गणेश हमालको निर्णायक गोलमा काठमाडौंको संकटा क्लब अफ्रिकन रूट्स एशोसिएशन क्यामरूनलाई १–० गोल अन्तरमा हराउँदै विराट गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार विराटनगरको सहिद मैदानमा जितका लागि दुवै टोलीले कठिन मिहेनत गरेका थिए। तुलनात्मक रूपमा विपक्षी पोष्टमा संकटाले भन्दा बढी चुनौती पेश गरेको अफ्रिकी टोलीका लागि संकटाका गोलरक्षक राजाबाबु थापा सबैभन्दा ठूलो तगारो सावित भए।
खेल अवधिभर व्यस्त रहेका थापाले अफ्रिकी टोलीको आधा दर्जनभन्दा बढी निश्चित गोलको अवसरलाई विफल पारिदिए ।
गोलपोष्टमा थापाको उत्कृष्ट प्रदर्शनलाई अग्रपंक्तिका खेलाडीले पनि न्याय गरे। खेलको ६१ औं मिनेटमा संकटाका विदेशी खेलाडी ओडी ग्लोरीले दिएको क्रसलाई विपक्षी पोष्टमा अनमार्क रहेका गणेशले हेडमार्फत सहजै पोष्टको दिशा दिए। हमालको यही गोल नै टोलीलाई अन्तिम चारमा पुर्याउन निर्णायक सावित भयो ।
पोखरामा सम्पन्न आहा-रारा गोल्डकपको फाइनलमा हराएको टोलीलाई नै पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ।
संकटाले गएको शनिबार यही अफ्रिकी टोलीलाई फाइनलमा ट्राइब्रेकरमा हराउँदै आहारारा गोल्डकपको उपाधि जितेको थियो ।
अब संकटाले बिहीबार फाइनल प्रवेशका लागि भारतको पन्जाब पुलिसँग प्रतिष्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेल बुधबार आयोजक विराटनगर र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ ।
पहिलो हाफमा गोलरहीत बराबरी खेलेका दुवै टोलीले त्यसबेलासम्म केही अवसर गुमाएका थिए । पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरूनले खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्यो । तर सफल हुन सकेन ।
खेलको १३ औं मिनेटमा क्यामरूनका खेलाडी बासेकले पेनाल्टी बक्सबाट गरेको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए।
संकटाका विष्णु सुनवारले खेलको २६ औं मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार विफल पार्न क्यामरुनका गोलरक्षक डिए स्यालबियो बाधक बने । ३९ औं मिनेटमा संकटाका ओडे ग्लोरीले गरेको सशक्त प्रहार बाहिरिँदा गोल हुन सकेन । खेलको ४५ औं मिनेटमा क्यामरुनका खेलाडी बासेकले ३० यार्डदेखि गरेको प्रहार पनि बाहिरिएको थियो ।
खेलको ५८ औं मिनेटमा क्यामरुनका माफोमाले गरेको कडा प्रहार संकटाका गोलरक्षक थापाले बिफल पारिदिए। खेलको ८९ औं मिनेटमा क्यामरुनका फ्बराईसले गरेको प्रहार बाहिरिँदा पाहुना टोली बाहिरिन बाध्य भयो। खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक थापा घोषित भए।