घरेलु टोली विराटनगर ११लाई हराउँदै विभागीय टोली विभागीय टोली एपिएफ छैठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित सहिद रङ्गशालामा बुधबार राति भएको पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लवले आयोजक विराटरनगर ११ लाई ३-२ गोल अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो।
निर्धारित ९० मिनेटको खेलमा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयको अन्तिम ४ मिनेट समय बाँकी रहँदा मणि लामाले गोल गर्दै एपिएफलाई फाइनलमा पुर्याए।
यसअघि खेलमा विराटनगरमाथि एपिएफले सुरूवाती अग्रता बनाएको छ। खेलको २७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपिएफलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले पछि परेको घरेलु टोली दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलको ५४ औं मिनेटमा स्टेफेन समिरको गोलमा खेललाई बराबरीमा ल्यायो।
त्यसको १२ मिनेटपछि पुनः एपिएफले खेलमा अग्रता लियो। रवि थिङले खेलको ६६ औं मिनेटमा डि बक्स भित्र पाएको राम्रो पासलाई सदुपयोग गर्दै जाली चुमाएका थिए।
श्याम नेपालीको पासमा रविले गोल गरेका थिए।
त्यसपछि खेलमा पछि परेको तीन मिनेटमै विराटनगरले खेल बराबरीमा ल्यायो। उसका लागि प्रकाश बुढाथोकीले खेलको ६९ औं मिनेटमा गोल गर्दै पुनः खेललाई बराबरीमा ल्याए। त्यसपछि दुबै तर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो।
अतिरिक्त समयको ११६ औं मिनेटमा एपिएफका मणीले निर्णायक गोल गर्दै एपिएफलाई उपाधि नजिक पुर्याए।
अब एपिएफले फाइनलमा शनिबार सङ्कटा र पञ्जाब पुलिसबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।
विराटनगरले शनिबार पहिलो क्वार्टरफाइनलमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बङ्गाललाई ३–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो भने एपिएफले सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि २–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
मोफसलमा खप्तड गोल्डकप पछि सर्वाधिक पुरस्कार राशीको विराट गोल्डकप विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ पनि प्राप्त गर्ने छन्।
प्रतियोगितामा १० क्लबको सहभागिता थियो। जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) , विराटनगर महानगरपालिका ११, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनका टोलीले प्रतिश्पर्धा गर्नेछन्।