शनिबार साँझ (भोलि) विराटनगरस्थित सहिद मैदानमा विराट गोल्डकप फुटबलको फाइनल भिडन्तमा ओर्लंदा सशस्त्र प्रहरीको एपिएफ क्लब सिजनको दोस्रो उपाधिको खोजीमा हुनेछ।
पहिलोपटककै सहभागितामा फाइनल पुगेको पाहुना टोली भारतको पन्जाब पुलिस पहिलो उपाधि जितेर घर फर्कन चाहन्छ। दुवै टोलीले खेलको पूर्वसन्ध्यामा उपाधि जित्ने आत्मविश्वास प्रकट गरेका छन्।
यद्यपि छैठौ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि जित्न दुवै टिमले बलियो विपक्षीको बाधा पार गर्नुपर्नेछ।
यसबारे दुवै टिम जानकार छन्। एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा योसँगै दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए।
‘योसँगै दोस्रोपटक विराट गोल्डकपको फाइनलमा पुगेका छौं। उपाधि उचाल्ने प्रयास रहने छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘हामी दुई लक्ष्य लिएर आएका थियौं, एउटा उपाधि र अर्को फाइनल पुग्ने। एउटा पूरा भयो, अर्को भोलि हुन्छ।’
उनले फाइनलमा ४–१–४–१ को रणनीतिमा मैदानमा उत्रिने बताए।
एपिएफका कप्तान सुदीप सिखाकारले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे।
‘पन्जाब राम्रो टिम हो। पन्जाबको अग्ला कद भएका खेलाडी छन्। त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौं,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं।’
नेपालमा पहिलोपटक आएको पन्जाब विराट गोल्डकपको फाइनलमा पुगेको हो।
पन्जाबका प्रशिक्षक हरनेक सिंहले फाइनलभन्दा अगाडि जसरी खेले, त्यही अनुरूप फाइनल खेल्ने बताए।
‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो। त्यसैले हामी यसलाई उठाउन सबभन्दा राम्रो खेल्नेछौं,’ उनले भने, ‘आहा रारा गोल्डकपको च्याम्पियन टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क छौं।’
उनका अनुसार पन्जाबले ४–४–२ को रणनीतिमा खेल्ने बताए ।
प्रतियोगितामा एपिएफले विभागीय चिर प्रतिद्वन्द्वी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।
एपिएफले क्वार्टरफाइनलमा प्रहरीलाई २–० ले र सेमिफाइनलमा विराटनगरलाई ३–२ ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई २–०, गोरखा व्वाइज क्लब रुपन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्वविजेता टिम संकटालाई १–० ले हराउँदै पन्जाबले फाइनलमा स्थान पक्का गरेको थियो।
एपिएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुगेको थियो। त्यसबेला संकटासँग १–० गोलले पराजित भयो। यसअघि महिना दिन अगाडी सम्पन्न चौथो गोलबजार गोल्डकपको उपाधि जितेको एपीएफ अर्को उपाधि जित्न आतुर छ।
भोलि मैदानमा उत्रँदा पन्जाबसँग नियमित कप्तान जगदीप सिंह हुने छैनन्। सेमिफाइनलमा रातो कार्ड पाएका कारण उनले फाइनल गुमाउनेछन्।
चैत २६ देखि सुरू भएको रात्रिकालीन गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ।
प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ।