भारतीय विभागीय टोली पञ्जाव पुलिसलाई हराउँदै नेपाली विभागीय टोली एपिएफले विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ।
विराटनगरको शहिद रंगशालामा शनिबार भएको फाइनलमा पञ्जाब पुलिसविरुद्ध १–० गोलान्तरको जित निकाल्दै एपिएफ ट्रफि जित्न सफल भएको हो।
प्रतियोगितामा एपिएफले विभागीय चिर प्रतिद्वन्द्वी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।
एपिएफले क्वार्टरफाइनलमा प्रहरीलाई २–० ले र सेमिफाइनलमा विराटनगरलाई ३–२ ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई २–०, गोरखा व्वाइज क्लब रुपन्देहीलाई ४–२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्वविजेता टिम संकटालाई १–० ले हराउँदै पन्जाबले फाइनलमा स्थान पक्का गरेको थियो।
सेमिफाइनलमा संकटाविरुद्ध अन्तिम समयमा रातो कार्ड पाएका पञ्जाबका कप्तान जयदिप सिंह र अर्का भरपर्दा रक्षक सर्वजित सिंह चोटका कारण टोलीमा पर्न नसक्दा पञ्जाबलाई रक्षापंक्ति सम्हाल्न निकै गाह्रो भएको थियो।
यसअघि एपिएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुगेको थियो। त्यसबेला संकटासँग १–० गोलले पराजित भयो। यसअघि महिना दिन अगाडि सम्पन्न चौथो गोलबजार गोल्डकपको उपाधि जितेको एपीएफले मोफसलमै दोस्रो उपाधि जितेको हो।
चैत २६ देखि सुरू भएको रात्रिकालीन गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ।
प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ।