शुक्रबार प्री-म्याच कनफ्रेन्समा सशस्त्र प्रहरीको एपीएफका कप्तान सुदिप शिखाकारले भनेका थिए, ‘हामी ग्राउन्ड बल खेल्नेछौं।’ नभन्दै सशस्त्रले त्यस्तै खेल्यो। र, शनिबार राति पन्जाब पुलिसलाई १–० को साँघुरो गोल अन्तरले हराउँदै छैठौं संस्करणको विराट गोल्डकप उपाधि हात पार्यो।
संकटासहितका टिमले पन्जाब पुलिससँग एयर बल खेलेर घुँडा टेकेका थिए। अग्ला कदका पन्जाबका खेलाडीलाई त्यसरी बल छिचोल्न ती टिम असफल थिए। तर, सशस्त्रले त्यो गल्ती गरेन। जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफी उचालेको छ ।
एपीएफका प्रदिप लामा निर्णायक गोल गरेर नायक बने। उनले खेलको १० औं मिनेटमा गरेको गोल नै टिमलाई छैठौं संस्करणको विराट गोल्डकप उपाधि दिलाउन पर्याप्त रह्यो। प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बललाई जाली चुमाएका थिए ।
खेलको सुरूवातदेखि नै आक्रमक देखिएको एपीएफका बुद्धीमान राईले खेलको दोस्रो मिनेटमै पाएको अवसर सदुपयोग गर्न सकेनन्। बिकु तामाङले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको बल बाहिरियो। खेलको चौथो मिनेटमा एपीएफका कप्तान सुदीप सिखाकारको डिबक्स नजिकदेखिको प्रहार बाहिरिँदा थप गोलको अवसर खेर गयो।
खेलको ३८ औं मिनेटमा एपीएफका आशिष लामाले ३० यार्डदेखि गरेको प्रहार पंजावका गोलरक्षक सतबीर सिंहले फ्रिलक गरेर बचाए ।
पंजावले बारम्बार गोल गर्ने अवसर चुकाउँदा पहिलो पटक नेपाल आएको टोली उपविजेतामा सिमित बन्नुपर्यो। उपविजेता बनेको पंजावले ७ लाख ५१ हजार रुपैयाँ पाएको छ।
दोस्रो हाफदेखि बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको पंजावका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेनन्। खेलको ५१ औं मिनेटमा राजवीर सिंहले गरेको प्रहार बाहिरिँदा खेल बराबरी हुने मौका गुमाएको थियो। ७० औं मिनेटमा परमजीत सिंहले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोष्टमाथिबाट बाहिरियो।
एपीएफले यो सिजनमा दुई वटा गोल्डकपको उपाधि जितेको छ। यसअघि महिना दिन अगाडि सम्पन्न भएको चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ। गोलबजार गोल्डकपमा आयोजक टिमलाई ४–० गोलले हराउँदै एपीएफले उपाधि उचालेको थियो।
प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट एपीएफका आशिष लामा घोषित भए। उनले मोटरसाइकल पाए। एपीएफकै प्रदिप लामा फाइनल खेलका म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार पाए।
बेस्ट गोलकिपरमा एपीएफका राजु नगरकोटी भए। यस्तै बेस्ट डिफेन्डर एपीएफकै सनिश श्रेष्ठ, बेस्ट मिड फिल्डर एपीएफका मणि लामा घोषित भए।
हाइस्कोर गर्ने विराटनगरका ११ का प्रकाश बुढाथोकी घोषित भए। उनले खेल अवधिभरीमा ४ गोल गरेका थिए।
एपीएफका सुमित श्रेष्ठले बेस्ट कोच अवार्ड जितेका छन्। बेस्ट स्ट्राइकरमा संकटाका काठमाडौका फोडे फोफना घोषित भए। उनीहरू सबैले जनही २५ हजार रुपैयाँ पाएका छन्।
फिफा अनुशासित टिममा विराटनगर महानगरपालिका ११ घोषित भयो।