कोरोनाका कारण एक वर्ष रोकिएको फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणका खेल सुरू भएका छन्।
अहिले एसियाका ४० टिमबीच आठ समूहमा प्रतिस्पर्धा भइरहेको छ। यी आठ समूहका शीर्ष टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् भने एसिया कपमा सिधै छनोट हुनेछन्। आठ समूहका उत्कृष्ट चार टिम पनि विश्वकप छनोटको तेस्रो चरणमा पुग्दा एसिया कपमा पनि छनोट हुनेछन्।
आठ समूह मध्ये समूह 'सी' को भिडन्त रोचक देखिएको छ। समूह 'सी' मा इराकसहित बहराइन, इरान, हङकङ र कम्बोडिया छन्।
यो समूहमा पाँच पटक फिफा विश्वकपमा सहभागी भइसकेको तीन पटकको एसियन च्याम्पियन इरान तेस्रो स्थानमा रहेको अवस्था छ। उसले चार खेलमा ६ अंक मात्र जोड्न सकेको छ।
शीर्ष स्थानमा इराक छ। इराकले समूहका पाँच मध्ये ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक जोडेको छ।
इराकले एसियाको उत्कृष्ट टिम मध्येको एक इरानलाई २-१ ले पराजित गर्दा कोम्बोडियालाई ४-० र हङकङलाई २-० गोलले पराजित गरेको थियो। बहराइनसँगका दुवै खेल भने बराबरीमा सकिएका थिए।
अब बाँकी रहेका तीन खेलमा उत्कृष्ट नतिजा निकाल्दै इराक विश्वकप छनोटको तेस्रो चरण र एसिया कपमा छनोट हुने योजनामा छ।
पछिल्ला वर्षमा उत्कृष्ट नतिजा निकालेको इराकबिरुद्ध नेपाली टिम शनिबार राति सवा दश बजे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ।
यो प्रतिस्पर्धा नेपाली टिमका लागि कठिन चुनौती हुने पक्का छ। किनभने नेपाली टिमका लागि इराक एक बलियो प्रतिद्वन्द्वी मात्र होइन उसकै भूमीमा खेल्नु पर्ने अवस्था छ।
इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कठिन चुनौती हुने स्वीकारेका छन्।
उनले इराकी फुटबल संघसँग कुरा गर्दै भनेका छन्,'इराकी टिम प्राविधिक रुपमा उत्कृष्ट छ। नेपालले एसिया र अरब क्षेत्रको बलियो टिमसँग खेल्दैछ।'
कुवेती नागरिक अलमुताइरीले इराकबिरुद्धको खेललाई विश्वकप छनोटको तयारीको रुपमा लिएका छन्। आगामी साता कुवेतमा हुने छनोटमार्फत एसिया कप छनोटको अर्को चरणमा स्थान बनाउने अलमुताइरीको योजना छ। त्यसका लागि नेपालले समूहमा तेस्रो वा चौथो स्थानमा रहनु पर्नेछ। त्यहीँ लक्ष्यलाई सकार पार्नका लागि अलमुताइरीले इराकसँगको खेल सिक्ने अवसरको रूपमा लिएका छन्।
इराकले पनि विश्वकप छनोटको तयारीकै लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि उसले घरेलु मैदानमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।
विश्वकप छनोटसँगै इराकले कोरोना भाइरस सुरु हुनुअघि सकिएको अरेबियन गल्फ कपमा पनि उत्कृष्ट खेल देखाएको थियो।
समूहमा एसियन च्याम्पियन कतारलाई २-१ र युएईलाई २-० ले पराजित गर्दै इराकले सेमिफाइनलमा स्थान बनाएको छ। सेमिफाइनलमा भने इराक बहराइनसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो। पछि बहराइन च्याम्पियन बनेको थियो।
इराकको प्रशिक्षकमा स्लोभेनियाका सेच्को कटानिच छन्। उनको प्रशिक्षणमा स्लोभेनियाले २००० को युरो कप खेलेको थियो। यस्तै उनकै प्रशिक्षणमा स्लोभेनियाले सन् २००२ को विश्वकप पनि खेल्यो। उनी सन् २००९ मा युएईको प्रशिक्षक बनेका थिए। युएईले २०११ मा बर्खास्त गरेपछि उनी फेरि स्लोभेनियाको प्रशिक्षक बनेका थिए।
कटानिक सन् २०१८ देखि इराकको प्रशिक्षक छन्। उनको प्रशिक्षणमा इराकले उत्कृष्ट खेल देखाइरहेको छ।
इराकी टिममा क्यानेडियन क्लब भ्यानकुभर ह्वाइटक्यापबाट व्यवसायिक फुटबल खेल्ने अली अडनान छन्। भ्यानकुभरले अमेरिकाको मेजर लिक सकर खेल्ने गर्छ। डिफेन्डर अडानानबाहेक टिममा रसियन क्लबबाट खेल्ने मिडफिल्डर सफा हडी र कतारी क्लब कतार एससीबाट खेल्ने बासर रेसन पनि टिममा छन्।
फरवार्ड मोहनाड अली पनि कतारी क्लब अल सैलियाबाट खेल्ने गर्छन्। डिफेन्डर रेबिन सुलाका बुल्गेरियाको लेभ्स्की सोफियाबाट खेल्छन्। यी बाहेक अन्य खेलाडी इराककै क्लबबाट खेल्ने गर्छन्।
सन् २००७ मा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भियतनामले संयुक्त रुपमा आयोजना गरेको एएफसी एसियन कपको उपाधि इराकले जितेको थियो। त्यतिबेला इराकले समूह चरणमा अस्ट्रलेयामाथि ३-१ को जित निकालेर सबैको ध्यान खिँचेको थियो। क्वार्टरफाइनलमा भियतनाम, सेमिफाइद्दलमा दक्षिण कोरिया र फाइनलमा साउदी अरेबरियालाई हराउँदै इराकले उपाधि जितेको थियो।
इराकले सन् १९८६ को विश्वकप खेलेको थियो। फुटबलको गर्विलो इतिहास बोकेको इराकबिरुद्ध खेल्न पाउनु नेपालका लागि ठूलो अवसर भएको नेपालका कप्तान किरणकुमार लिम्बुको भनाइ छ।
फिफा वरीयतामा आफूभन्दा १०३ स्थान माथिको इराकको बेगलाई रोक्न नेपालका प्रशिक्षक अलमुताइरीले कस्तो योजना बनाउँछन्, त्यो हेर्न बाँकी छ। अलमुताइरीले नेपाली खेलाडीको आत्मविश्वास बढाउने काम गरिरहेका छन्। अब खेलाडीले उनको रणनीति मैदानमा लागू गर्न पर्नेछ।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।
छनोटमा समूह 'बी' रहेको नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।
समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ।
नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।
नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट
सम्बन्धित समाचारहरू
२० वर्षपछि इराकमा खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
फुटबल टिमका प्रशिक्षक भन्छन्- 'सोचेजस्तो नतिजा नआए खेलाडीलाई होइन मलाई दोष दिनुहोला'
नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो