फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले सोमबार जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।
समूह 'बी' अन्तर्गत कुवेत सिटीमा राति पौने दश बजे हुने खेल नेपालका लागि महत्वपूर्ण छ। खेलमा जित हात पारे मात्र नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधैँ पुग्ने सम्भावना हुनेछ।
६ अंक जोडेर समूहको चौथो स्थानमा रहेको नेपालका लागि आठ समूहका उत्कृष्ट चार टिम बन्न जोर्डनसँग जित निकाल्नु पर्ने भएको हो।
समूह 'एच' मा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएका कारण कोरिया समूहको पाँचौ स्थानमा धकेलिएको छ।
त्यसैले एएफसीले पाँचौ स्थानको टिमविरुद्ध हात पारेको जितलाई उत्कृष्ट चौथो टिम घोषणा गर्दा समावेश नगर्ने निर्णय गरेको थियो।।
जसको घाटा नेपाललाई भएको छ। किनभने नेपालले हात पारेका दुवै जित समूहको पाँचौ स्थानको चाइनिज ताइपेईविरुद्ध हो।
जोर्डनविरुद्धको खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध सन्तुलित खेल्ने प्रतिक्रिया दिएका छन्।
'फुटबलमा नतिजाले मात्र अर्थ राख्छ, हामी जोर्डनविरुद्ध सन्तुलित ढंगबाट खेल्नेछौं। हामी हार मान्नेवाला छैनौं, खासगरी नेपालको प्रशासनिक निकायसँगै खेलाडी र प्रशंसकहरूको मानसिकतामा परिवर्तन भएको छ,' कुवेती नागरिक अलमुताइरीले खेलअघि भनेका छन्।
'सबै खेल ०-० बाट सुरु हन्छ र नतिजा मैदानमा देखाएको प्रदर्शनको आधारमा तय हुन्छ। हामी लक्ष्य जित्ने हो। एसियन कपमा छनोट हुनका लागि हामीलाई जित्न जरुरी छ। हामीले ताइपेईविरुद्धको खेल जस्तै जोर्डनविरुद्धको खेलका लागि पनि तयारी गरेका छौं।'
नेपाललाई जस्तै जोर्डनलाई पनि सोमबारको खेल महत्वपूर्ण छ। समूहमा कम्तिमा दोस्रो बनेर विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा सिधैं स्थान बनाउनका लागि जोर्डन सोमबार नेपाललाई पराजित गर्न चाहान्छ।
अघिल्लो खेलमा दोस्रो स्थानको कुवेतलाई अस्ट्रेलियाले पराजित गरेको फाइदा उठाउँदै जोर्डन दोस्रो स्थानमा बलियो हुने रणनीतिमा छ।
जोर्डन फिफा वरीयतामा ९५औं स्थानमा छ। आफूभन्दा ७६ स्थान तलको नेपालविरुद्ध जित हात पार्दा जोर्डनको उत्कृष्ट दोस्रो टिम बन्ने सम्भावना प्रवल हुनेछ।
खेलअघि जोर्डनका प्रशिक्षक भाइटल बोर्केलमन्सले नेपालविरुद्ध जितका लागि खेल्ने बताएका छन्।
'हामीलाई छनोट हुनका लागि ९ अंक चाहिन्छ। अंक जोड्ने यात्रा हामी नेपालविरुद्धको खेलबाट सुरु गर्न चाहान्छौं। पहिला हामी नेपालविरुद्ध तीन अंकका लागि खेल्नेछौं। त्यसपछि मात्र अर्को खेलमा ध्यान दिनेछौं,' उनले एएफसीसँग कुरा गर्दै भनेका छन्।
सन् २०२१ मा जोर्डनले ८ मैत्रीपूर्ण खेल खेलेको छ। जसमा तीन खेलमा जित हात पारेको जोर्डन तीन खेलमा पराजित भएको छ। दुई खेलमा भने जोर्डन बराबरीमा रोकिएको छ।
गत मे ३१ मा भियतनामसँगको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको जोर्डन २४ मेमा युएईसँग ५-१ गोलले पराजित भएको थियो।
नेपाल र जोर्डनबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा नेपालले दुई हार बेहोर्दा एक बराबरी खेलेको छ।
ती तीनै खेल विश्वकप छनोटका खेल हुन्। सन् २०११ मा भएको विश्वकप छनोटको पहिलो लेगमा जोर्डनले घरेलु मैदानमा नेपाललाई ९-० गोलले पराजित गरेको थियो। यो जित जोर्डनको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा ठूलो जित हो।
एक सातापछि दशरथ रंगशालामा भएको दोस्रो लेगमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो।
पछिल्लो पटक जोर्डन र नेपालबीच जारी विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो। आम्बानमा सो खेलमा नेपालमाथि जोर्डनले ३-० को जित हात पार्यो। तीन खेलमा जोर्डनले १३ गोल गर्दा नेपालले केवल १ गोल गर्न सकेको छ।