२४ जुन सन् १९८७ को दिन फुटबल आकाशमा एउटा फूल फुल्यो जसको सुगन्धले आज फुटबल खेल्ने खुट्टाहरू समेत मगमगाएका छन्। जसले फुटबललाई अझ प्रिय बनायो, लाग्छ जसको कला हेर्न ९० मिनेट भित्रको कुनै मिनेट शायद भगवान् समेत अदृश्य रूपमा मैदानमै छिर्ने गर्छन् अनि आफ्नै सृष्टिको फूलबारीको सुगन्धित कला चुम्ने गर्छन्।
सिंगो जगत आज त्यो फूललाई एउटा महान् खेलाडी लियोनल आन्द्रेयी मेसीको नाममा सम्बोधन गर्छ। मात्र ५ फिट ७ इन्च अग्लो, लामो र छोटो दुवै कपालमा कमाल फुटबल संसारको एउटा दुर्लभ पात्र आज आफ्नो मातृभूमि अर्जेन्टिनालाई उपाधि दिलाउन अन्तिम लडाइँ लड्दैछ।
‘जब तपाईं पहिलोपटक उसलाई देख्नुहुन्छ तपाईंलाई लाग्छ यो बच्चा फुटबल खेल्न सक्दैन। निकै सानो, कमजोर अनि होचो छ। फेरि तुरून्तै तपाईंले महसुस गर्नुहुनेछ कि ऊ जन्मँदै फरक र केही विशेष छ,’ न्यूवेल्स वल्ड व्वाईज्का युवा प्रशिक्षक एड्रियनले भनेका थिए। कोरियाका यी प्रशीक्षक लियोनल मेसीका प्रशिक्षक थिए।
स्पेनिस क्लब बार्सिलोनाबाट सबै सफलता चुमिसकेका मेसीका लागि अब राष्ट्रिय टिमबाट सफलता चुम्ने चुनौती छ। खासमा म्याराडोनालाई अर्जेन्टिनामा भगवानसरह सम्मान गरिन्छ भने मेसीलाई अपमान र अपजसको भारी बोकाइन्छ कारण सिनियर टिमबाट कुनै उपाधि जित्न नसक्नु नै हो ।
अर्जेन्टिनाको रोजारियो शहरमा जन्मिएका मेसी ३४ वर्षका भए। पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेका मेसीको प्रतिभालाई देखेर बार्सिलोनाको एक स्काउटले उनलाई लामासिया पुर्याएको थियो। लामासियामा युथ १५ मा उनले उच्च प्रदर्शन गरे जसका कारण टोलीका प्रशिक्षक फ्रांक राइकार्डको आँखामा परिहाले। २००३ मा पोर्टो विरूद्ध डेब्यु गरे त्यसपछि भने उनले पछाडि फर्केर हेर्नै परेन।
सन् १९९४ मा पहिलोपटक न्यूवेल्स वल्ड व्वाइज का लागि फुटबल खेलेका मेसी आज फुटबलको आकाशका चम्किला तारा भएका छन् ।
‘मेसीको गोल नै भगवानको कला हो,’ मेसीका बारेमा फ्रांक राइकार्डले भनेका छन्। उनैले मेसीलाई पहिलोपटक बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गराएका थिए ।
‘उसका बारेमा वर्णन या विश्लेषण नगर्नुस् केवल तपाईं उसको गेम हेर्नुस् तपाईंले फुटबलको धड्कन पाउनुहुनेछ,’ उनले भनेका थिए।
माथिका भनाइहरू मेसीलाई वास्तविक मेसी बनाउन ठूलो योगदान गरेका बार्सिलोना, बायर्न र हालका म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिवाला हुन्। ग्वार्डिवालालाई आधुनिक फुटबलका वास्तविक ब्यवस्थापक भनिन्छ। ग्वार्डिवाला, मेसी, जाभी, इनिएस्टा, पियोल र पिके जस्ता खेलाडीहरूले भरिएको बार्सिलोनाको त्यो टिमको सफलतालाई क्लब इतिहासमैं स्वर्णकाल मानिन्छ ।
संसारको सबैभन्दा पुरानो प्रतियोगिता अर्थात् कोपा अमेरिका ब्राजिलमा सञ्चालन भइरहेको छ। मेसी यतिवेला कोपा अमेरिका खेल्दैछन्। यो प्रतियोगिता मेसीका लागि उपाधि जित्ने अन्तिम अवसर हुनसक्छ। जितमा खुशीसँगै सम्मान मिल्नेछ भने हारमा थकाइ, सकस र अपमान।
जगतको यो घतलाग्दो पात्रको बारेमा केही लेख्दा अथवा कल्पना गर्दा फुटबलप्रियताको दोस्रो मष्तिक प्रयोग गर्दा अझ सुनमा सुगन्ध हुन्छ। फुटबलप्रियताको तेस्रो आँखाले मात्र मेसीको खास क्षमतालाई देख्न सक्छ ।
क्रिकेटका सचिन अनि फुटबलका मेसी उस्तैउस्तै लाग्दछन्। कम बोल्ने अनि भलाद्मी स्वभावका। रात होस् या दिन आफ्नो प्रिय खेलाडीको खेल हेर्न मान्छेले दिनमा समय निकाल्दैछन् भने रातमा निद्रा त्याग्दैछन् । मेसीका लागि योभन्दा अगाडिको कोपा अमेरिका त्यति सुखद रहेन ।
२०१९ को कोपा अमेरिका प्रतियोगिता भइरहेका वेला मेसीले ‘दक्षिण अमेरिकी फुटबल भ्रष्टहरूको अखडा हो,’ भनेका थिए। उनले आफ्नो मनको बह रोक्नै सकेनन् जसका कारण उनी निकै विवादमा तानिए। चिली विरूद्धको खेलमा उनले रातो कार्ड नै पाए। हंगेरी विरूद्ध पहिलो डेब्यू खेलमैं रातो कार्ड पाएका मेसीका लागि त्यो जीवनकै दोस्रो रातो कार्ड थियो। यद्यपी अर्जेन्टिनाले चिलीलाई हराएर तेस्रो स्थानमा चित्त बुझाएको थियो। मेसी पदक लिन समेत गएनन्।
सेमिफाइनल ब्राजिल र अर्जेन्टिना बीच भएको थियो । दुई दक्षिण अमेरिकी महारथीका बीच हुने खेलहरू विगतमा पनि विवाद र तनावयुक्त थिए। धेरैलाई लाग्छ प्रायः यी दुई देशका बीच खेल भइरहँदा रेफ्रीले ब्राजिलकै पक्षधरता जाहेर गर्नेगर्छन्। ब्राजिलले अर्जेन्टिनालाई हरायो। फाइनलमा ब्राजिलले पेरूलाई हराएर उपाधि जित्यो मेसी फेरि खाली हात घर फर्किए।
र्दुइपटक कोपा अमेरिका र एउटा विश्वकपको नजिक पुगेर पनि जित्न नसक्दा मेसीमा कति चोट पुगेको होला? फाइनलमा पराजित हुँदा कतिपय अवस्थामा उनले आफूले आफूलाई सम्हाल्न निकै संघर्ष गर्नुपरेको बुझ्न सकिन्छ। जब अर्जेन्टिना कोपा अमेरिकामा चिलीसँग फाइनलमा पराजित भयो मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे। त्यो अप्रत्याशित थियो ।
धेरैलाई दुःखी पनि बनायो । तर उनले आफ्नो निर्णयमा पुनर्विचार गरे । फेरि अर्जेन्टिनाको जर्सीमा देखा परे ।
आलोचकहरू मेसीलाई अर्जेन्टाइनभन्दा ज्यादा क्याटलान ठान्दछन्। सानै उमेरमा अर्जेन्टिना छाडेर उनी स्पेनमा गए। बार्सिलोनाले उनलाई सहयोग नगरेको भए मेसी आजको ठाउँमा आउन निकै कठिन थियो। पटकपटक उनलाई स्पेनिस राष्ट्रिय टिमबाट खेल्ने अवसर प्राप्त भएको थियो तर उनले स्वीकार गरेनन्। उनलाई अर्जेन्टिना प्रिय थियो। क्लब फुटबलमा सर्वाधिक सफल मेसी राष्ट्रिय टिमका लागि भने त्यति सफल मानिएका छैनन्। असफलताको खडेरी भंग गर्ने अवसर भने अझै पनि मेसीको हातमा छ ।
मेसीले आफ्नो देशका लागि केही महत्वपूर्ण उपाधि जितिसकेका छन् तर त्यो सिनिएर टिमबाट भने होइन। युथ २० विश्वकप, ओलम्पिक फुटबलमा गोल्ड मेडल। अर्जेन्टिनालाई विश्वकप फाइनलमा पुर्याउनु तथा र्दुइ पटक कोपा अमेरिकाको फाइनलसम्म मेसी बीना सम्भव थियो त ?
चार पटक च्याम्पियन्स लिग विजेता, ६ पटक बालोन डियोर, तीन पटक युएफा उत्कृष्ट खेलाडी, दश पटक लालिगा च्याम्पियन, सात पटक स्पेनिस कप विजेता, आठ स्पेनिस सुपर कप, तीन फिफा क्लब विश्वकप, एकै वर्षमा ९१ गोल लगायत दर्जनौं रकर्डहरू मेसीका नाममा छन्।
जुन अनुपातमा उकाली त्यही अनुपातमा ओराली। जुन अनुपातमा उचाइ त्यही अनुपातमा गहिराइ। आधुनिक फुटबलमा मेसीको कसैसँग तुलना हुनै सक्दैन। आखिर जतिसुकै महान् खेलाडी भए पनि अर्जेन्टिनालाई अन्तराष्ट्रिय उपाधि दिलाउन नसके मेसीको खेल जीवनमा
एउटा अभाव खट्किनेछ। शायद आजको फुटबलको न्याय मेसीको हातमा अन्तर्राष्ट्रिय उपाधि हुनु हो, अन्यथा महान् मेसी अपमान, अपजस र अधुरा सपनाहरूमा बाँचिरहने छन्।
बहस हुनसक्छ अर्जेन्टिनाका लागि मेसी महान् खेलाडी हुन या असफलताको विशेषज्ञ? तर आजको पल मेसीको फुटबल कलाको मनोरञ्जन लिने पल हो। त्यसैले त एकपटक रोय हडसनले भनेका छन्, ‘भगवान् फुटबल खेल्न चाहन्थे त्यसैले यस धर्तीमा मेसीलाई पठाए।’