गत साउन १० गते नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अचानक सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेपछि नेपाली फुटबलमा तरंग आयो। प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नामै तोकेर राजीनामा दिन लागेको बताएका थिए।
छोटो समयमै नेपाली समर्थकमाझ लोकप्रिय छवि बनाएका अनमुताइरीले नेम्वाङका कारण राजीनामा दिन लागेको आशय व्यक्त गरेपछि समर्थकमाझ मात्र होइन एन्फा व्यवस्थापनमा पनि हलचल मच्चियो। जसको समाधान अहिलेसम्म निस्किएको छैन।
फुटबल टिम फिफा विश्वकप छनोट प्रतियोगिता खेलेर जेठ अन्तिम साता स्वदेश फर्किएपछि नेपाली फुटबल वृत्तमा प्रशिक्षक अलमुतारी छाएका थिए।
नेपाली फुटबल टिमको खेल्ने शैलीमा परिवर्तन भएको भन्दै उनी समर्थकमाथ लोकप्रिय बने। उनले खेलाडीको पक्षमा बोलेका कुरा मिडियाका लागि खुराक बन्यो।
सामाजिक सञ्जालमा उनले समर्थकलाई सम्बोधन गर्दै धैर्य गर्न भनिरहे। फेसबुक लाइभमार्फत नेपाली फुटबल समर्थकका जिज्ञासा सम्बोधन गरे। समर्थकका प्रतिक्रिया र सन्देशलाई भ्याएसम्म 'रेस्पोन्स' गरे।
कुवेतमा भएको विश्वकप छनोटमा नेपालले तीन खेल खेलेको थियो। चाइनिज ताइपेईविरूद्धको खेलमा नेपालले २-० को जित निकालेको थियो। जोर्डनसँग ३-० र अस्ट्रेलियासँग पनि ३-० कै हार बेहोर्यो।
नतिजाका आधारमा नेपालका लागि कुवेतमा भएको खेल खासै उत्साहजनक थिएन। तर टिमलाई उनले दिएको उत्प्रेरणाले भने सकारात्मक सन्देश दिएको थियो।
गत चैत २२ गते नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका अलमुताइरी समर्थकमाझ लोकप्रिय बनिरहेका थिए।
उनी अघि नेपालका प्रशिक्षक बालगोपाल महर्जन थिए। उनको नेतृत्वमा नेपालले चैतमा भएको त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो।
फिफाले विश्वकप छनोटका लागि प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक अनिवार्य हुनुपर्ने नियम बनाएपछि नेपालले अब्दुल्लाहलाई नियुक्त गरेको थियो। किनभने महर्जनसँग प्रो-लाइसेन्स थिएन। त्यसअघि अलमुताइरी एन्फाको प्रशिक्षण विभागमा काम गर्ने गरी नेपाल आएका थिए। उनी कतार फुटबल एसोसिएसनको सहयोगमा नेपाल आएका थिए। उनको तलब लगातयको सुविधा कतारले नै व्यहोर्ने गर्छ।
एन्फाले केन्द्रीय समितिमा कुनै छलफल नै नगरी अलमुताइरीलाई एक्कासी प्रशिक्षक नियुक्त गरेको थियो। किनभने नेपालसँग अर्को विकल्प थिएन।
त्यतिबेला एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले प्रशिक्षक नियुक्त प्रक्रियाको अनौपचारिक रूपमा विरोध गरेका थिए।
उनले जसलाई प्रशिक्षक नियुक्त गरे पनि केन्द्रीय समितिमा छलफल गर्नु पर्ने माग राखेका थिए। तर एन्फा सचिवालयले पछि अनुमोदन गर्ने गरी अलमुताइरीलाई प्रशिक्षक नियुक्त गरिएको स्पष्टीकरण दिएको थियो।
प्रशिक्षक नियुक्त भएको तीन महिनामै लोकप्रिय बनेका अलमुताइरीको नेपाली टिमसँग एक वर्षको सम्झौता थियो। यो बीचमा उनको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप खेल्ने तालिका छ। तर एएफसी एसियन कप छनोटको तेस्रो चरणमा उनी नेपाली टिममा नहुन पनि सक्छन्। किनभने तेस्रो चरण आगामी फेब्रुअरीमा सुरू भएर २०२२ को सेप्टेम्बरमा सकिनेछ।
यो बीचमा प्रशिक्षकको पदावधिको विषयमा एन्फामा विवाद भएको थियो। अध्यक्ष कर्माछिरिङ शेर्पा र अलमुतारीबीच सम्झौता नवीकरण गर्ने सहमति भएको बताइन्छ। यस विषयमा शेर्पाले केही बताउन चाहेका छैनन्।
८ महिना बाँकी छँदै प्रशिक्षकको करार अवधि थप्नुको औचित्यको विषयमा एन्फा केन्द्रीय समितिमा छलफल गर्नु पर्ने वरिष्ठ उपाध्यक्ष नेम्बाङ लगायतको माग थियो।
नियम मान्ने हो भने प्रशिक्षक नियुक्तिको सिफारिस एन्फाको प्राविधिक समितिले गर्ने गर्छ। जसको संयोजक अर्का उपाध्यक्ष कृष्ण थापा थिए। नेपालका पूर्वप्रशिक्षक समेत रहेका उनले आफू संयोजक रहेको समितिमा छलफल नै नगरी प्रशिक्षकको करार थपिएको दाबी गरेका थिए। जसका कारण उनले प्राविधिक समितिको संयोजकबाट राजीनामा दिएका थिए।
प्रशिक्षकको करार केन्द्रीय समितिमा छलफल नै नगरी थपिएको विषयमा एन्फामा विवाद भइरहेको बेला अलमुताइरी मिडियाका आएका समाचारका कारण आफैं विवादमा परे।
उनले एक अनलाइन दिएको अन्तर्वार्ताको विषयमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले असन्तुष्टि जनाए। उनले उक्त अन्तर्वार्तामा आफू हालका अध्यक्ष कर्माछिरिङ शेर्पासँग मात्र काम गर्न सक्ने आशयको प्रतिक्रिया दिएका थिए। उनले फुटबल पदाधिकारीको मानसिकता परिवर्तन हुनु पर्ने बताएका थिए।
एन्फा कार्यसमितिको निर्वाचन नजिकिरहेको बेलामा उनले हालका अध्यक्षसँग मात्र काम गर्न सक्छु भन्ने आशयको भनाइ राख्दा अर्को पक्ष संशकित हुनु स्वभाविक हो।
जसका कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङले अलमुताइरीसँग उक्त अन्तर्वार्ताका विषयमा स्पष्ट पार्न महासचिव इन्द्रमान तुलाधरमार्फत् भनेका थिए। अलमुताइरीले अबदेखि त्यस्तो नहुने जवाफ दिएको नेम्वाङ बताउँछन्।
यो घटनापछि अलमुताइरी नेम्वाङसँग नकारात्मक भएको देखिन्छ। अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष नेम्वाङबीच पछिल्लो समय तीव्र असहमति छ। अलमुताइरीलाई थप नकारात्मक हुन शेर्पा र नेम्वाङबीचको सम्बन्धले बल पुर्याएको देखिन्छ।
साउन दोस्रो साता अलमुताइरीको विषयमा ‘मेरो खेल डटकम’मा 'प्रशिक्षक अल्मुताइरीद्वारा पत्रकारमाथि दुर्व्यवहार' शीर्षकमा समाचार छापिएको थियो। एन्फा कम्प्लेक्समा प्रशिक्षण चलिरहँदा प्रशिक्षक अलमुताइरीले बाहिर आएर चुरोट खाएको समाचारमा उल्लेख थियो। त्यसपछि 'सार्वजनिक स्थलमा धुम्रपान गर्न पाइन्छ?’ भन्दै प्रश्न गर्दा उनले आक्रोशित भएर अंग्रेजीमा गाली गरेको समाचारमा दाबी गरिएको थियो। भिडिओ खिच्न खोज्दा प्रशिक्षकले क्यामेरा खोस्ने प्रयास गरेको र झगडा गरेको समाचारमा उल्लेख थियो।
मेरो खेलका पत्रकारले फेसबुकमा लेखेको स्टाटसमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले 'लाइक' गरेपछि प्रशिक्षक अलमुताइरी आक्रोशित बनेको देखिन्छ। यस्तै मेरो खेलका पत्रकारले एन्फामा निवेदन दर्ता गराएको तस्बिर पोस्ट गरेको थिए। उक्त पोस्टमा अर्का उपाध्यक्ष कृष्ण थापाले 'वेल डन' भनेर लेखेका थिए।
यो घटनापछि प्रशिक्षक अलमुतारीले 'आफू राजीनामा दिन एन्फा गइरहेको र राजीनामाको कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङ भएको' भन्दै फेसबुकमा पोस्ट गरेका थिए। उनको स्टाटसपछि फुटबल समर्थकहरू नेम्वाङमाथि खनिएका थिए भने प्रशिक्षकको बचाउमा उत्रिएका थिए।
लगत्तै नेम्वाङले पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएको आरोप निराधार भएको भन्दै खण्डन गरेका थिए। नेम्वाङले अलमुतारीलाई आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका थिए। प्रशिक्षकले फेसबुकमार्फत् आरोप लगाउनु षड्यन्त्र भएको भन्दै नेम्वाङले एन्फा नेतृत्वमाथि औंला उठाएका थिए।
प्रशिक्षक अलमुताइरीको राजीनामा घोषणापछि नेम्वाङले छानविनको माग गर्दै एन्फामा पत्र दर्ता गराए। लगत्तै प्रशिक्षक अलमुतारीले पनि मेरो खेलका दुई पत्रकार र वरिष्ठ उपाध्यक्षमाथि छानविनको माग गर्दै निवेदन दिए। उक्त निवेदनमा आफूमाथि 'दुर्व्यवहार' भएको दाबी गर्दै अगस्ट १० सम्म छानबिन नभए आफूले नेपाल छाड्ने उनले चेतावनी दिएका छन्।
प्रशिक्षक र वरिष्ठ उपाध्यक्षले निवेदन दिएपछि एन्फाले गत साता आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको थियो। सो बैठकमा प्रशिक्षक र उपाध्यक्षको विषयको भएको विवादको विषयमा जानकारी दिन केन्द्रीय सदस्यले माग गरे। त्यसपछि बैठकमा प्रशिक्षक अलमुताइरी पनि सहभागी भएका थिए।
बैठकमा अलमुताइरी र उपाध्यक्ष नेम्वाङले दिएको पत्र पढेर सुनाइएको थियो। त्यसपछि मेरो खेलका पत्रकारले दर्ता गराएको पत्र पढेर सुनाउँदै गर्दा प्रशिक्षक अलमुताइरी आक्रोशित बनेका थिए। उनी टेबलमा हातले बजार्दै उठेको बैठकमा सहभागी एक केन्द्रीय सदस्य बताउँछन्। उनी ढोका ड्याङ्ग पार्दै बाहिर निस्किएको ती केन्द्रीय सदस्यको दाबी छ।
छलफल चल्दै गर्दा प्रशिक्षक बाहिर निस्केपछि अध्यक्ष कर्माछिरिङ शेर्पा उनको पछाडि पछाडि गएका थिए। प्रशिक्षकलाई सम्झाउन कोशिश गरे पनि शेर्पा असफल भएका थिए। आफूमाथि दुर्व्यवहार हुँदा पनि एन्फाले 'संरक्षण' नगरेको भन्दै उनी आक्रोशित बनेका थिए।
जसका कारण बैठकमा विवादको विषयमा कुनै मुर्त छलफल हुन सकेन। एन्फाले विवादको विषयमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो। पछि मन्त्रालयले छानबिनको जिम्मा राष्ट्रिय खेलकुद परिषद्लाई दिएको थियो।
परिषद्ले छिटै छानबिन सक्ने बताएको एन्फा अध्यक्ष शेर्पा बताउँछन्।
एन्फाले आफै छानबिन नगरी खेलकुद मन्त्रालयलाई अनुरोध गरेकोमा पनि वरिष्ठ उपाध्यक्ष नेम्वाङ असन्तुष्ट छन्। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले संस्थामा विवाद हुँदा आफैं छानबिन गर्ने गरेको उदाहरण दिँदै नेम्वाङ एन्फा विवाद समाधान गर्न असफल भएको बताउँछन्। साथै एन्फाको विधानमा पनि आफैंले छानबिन गर्ने उल्लेख गर्दै विधान मिचिएको उनको दाबी छ।
अध्यक्ष शेर्पा भने आफूमाथि पनि कतिपयले शंका गरेकाले खेलकुद मन्त्रालयलाई जिम्मा दिएको बताउँछन्।
'कतिपय साथीहरूले प्रशिक्षकको विवादमा मलाई पनि आरोप लगाएका छन्। त्यसैले स्वतन्त्र छानबिन होस् भनेर मन्त्रालयलाई जिम्मेवारी दिएका हौं,' उनले भने।
एन्फाले मन्त्रालयतिर पन्छाएपछि विवाद समाधान गर्न नेम्वाङ र अलमुताइरीबीच गत साउन १९ गते राजधानीको एक होटलमा गोप्य छलफल भएको थियो।
उक्त छलफलमा नेम्वाङसँगै एन्फाका केन्द्रीय सदस्य तथा पूर्वप्रवक्ता किरण राई तथा उपाध्यक्ष वीरबहादुर खड्का पनि सहभागी भएका थिए।
घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा भएको उक्त छलफलमा सौहार्दपूर्ण रूपमा कुरा भएको थियो। नेपालका लागि कतारका राजदूतको आग्रहमा राजकर्णिकारले विवाद समाधानको पहल गरेका थिए। प्रशिक्षक विवादमा परेपछि चिन्तित बनेका राजदूतले निकट सम्बन्ध भएका राजकर्णिकारलाई समाधानका लागि पहल गर्न भनेको स्रोतको दाबी छ।
एन्फा नेतृत्वलाई थाहा नदिएको उक्त छलफलमा पछि राष्ट्रिय टिमका व्यवस्थापक तथा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय पुगेका थिए। गोप्य भनिएको उक्त छलफलमा उपाध्याय पुगेपछि नेम्वाङ सशंकित बनेका थिए।
प्रशिक्षक अलमुताइरीले मेरो खेलका पत्रकारको पोस्टमा नेम्वाङले लाइक गर्दा आफूले फेसबुकमार्फत असन्तुष्टि पोखेको बताएको छलफलमा सहभागी एक पदाधिकारीले जानकारी दिए। त्योबाहेक नेम्वाङको कुनै कुरामा असन्तुष्टि नपोखेको उनको दाबी छ।
छलफलपछि विवाद समाधानका लागि दुबैले संयुक्त विज्ञप्ति निकाल्ने सहमति बनेको थियो। तर त्यही दिन प्रशिक्षक अलमुताइरी पोखरा गएका थिए। त्यसपछि राष्ट्रिय टिमका व्यवस्थापक उपाध्याय र महासचिव इन्द्रमान तुलाधर पनि पोखरा पुगेका थिए। जसका कारण दुबै पक्षबीच कुनै विवाद नभएको व्यहोराको विज्ञप्ति निकाल्ने प्रक्रिया रोकिएको नेम्वाङ पक्षको दाबी छ।
'नेम्वाङ र अलमुताइरीको विवाद बढाएर फाइदा उठाउने पक्ष पनि सक्रिय भएको हाम्रो बुझाइ छ,' उनले दाबी गरे।
अलमुताइरीले एन्फामा दर्ता गराएको निवेदन