नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न रूचाउँछन्।
नेपालको प्रशिक्षक नियुक्त भएपछि उनले निरन्तर नेपाली समर्थकलाई सम्बोन्धन गर्दै फेसबुकमा स्टाटस लेख्थे। जसमा हजारौं समर्थकले प्रतिक्रिया दिने गर्थे। अधिकांश प्रतिक्रिया सकारात्मक हुन्थे।
गत साउन १० गते उनले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण नेपाली फुटबल तरंगित बन्यो। सो दिन अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई मुछ्दै उनले आफू राजीनामा दिन एन्फा कार्यालय गइरहेको लेखेका थिए।
सो स्टाटसपछि उनलाई राजीनामा नदिन भन्दै हजारौंले प्रतिक्रिया दिएका थिए। नेपाली फुटबलमा राजनीति बढी भएको र उनलाई काम गर्न नदिएको अधिकांशको भनाइ थियो। कतिपयले वरिष्ठ उपाध्यक्षलाई गम्भीर आरोपसमेत लगाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखे पनि राजीनामा भने दिएनन्। बरू उनको फेसबुक स्टाटसका कारण वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफ्नो फेसबुक खाता निष्क्रिय पार्न बाध्य भए।
उनले सो स्टाटस लेख्नुको पछाडि सामाजिक सञ्जाल नै मुख्य कारण देखिन्छ।
गत असारमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाको जन्मदिनमा अलमुताइरीले फेसबुकमार्फत् शुभकामना दिएका थिए।
सो पोस्टमा अलमुताइरीले शेर्पालाई ‘डियर ब्रदर’ भनेर सम्बोधन गरेका थिए। एन्फाका कतिपय पदाधिकारीले ‘डियर ब्रदर’ शब्द नरुचाएको एन्फा स्रोत बताउँछ। सो पोस्टमा कतिपयले ‘एङ्ग्री रियाक्ट’ समेत गरेपछि अलमुताइरी रिसाएका थिए। तर अहिले सो पोस्टमा ‘एन्ग्री रियाक्ट’ देखिदैँन।
साउन पहिलो साता नेपाली टिम एन्फा कम्प्लेक्स सातदोबाटोमा अभ्यास गरिरहेको थियो। सो अभ्यासका दौरान अलमुताइरी कम्लेक्स बाहिर निस्किएर धुमपान गरे। त्यस विषयमा त्यहाँ उपस्थित मेरो खेलका पत्रकारले प्रश्न गरेपछि पत्रकार र अलमुताइरबीच विवाद भयो।
त्यसपछि सो कुरा सामाजिक सञ्जालमा फैलियो। जसमध्ये हाम्रो खेलका पत्रकारको एक पोस्टमा वरिष्ठ उपाध्यक्ष नेम्वाङले लाइक गरे भने उपाध्यक्ष कृष्ण थापाले ‘वेल डन’ भनेर लेखे। एन्फाका पदाधिकारीले पत्रकारको पोस्टमा लाइक गरेपछि अलमुताइरी झन् रिसाए। जुन कुरा अलमुताइरीले एन्फामा दर्ता गराएको निवदेनमा पनि उल्लेख छ।
सामाजिक सञ्जालमा आफ्नो विषयको कुरामा लाइक गरेपछि अलमुताइरीले नेम्बाङको नामै तोकेर ‘राजीनामा दिन्छु’ भन्दै लेखिदिए। जसका कारण फुटबलमा ठूलो विवाद सिर्जना भयो। वरिष्ठ उपाध्यक्ष नेम्बाङले आफ्नो करिअर सिध्याउने मनासायले स्टाटस लेखेको आरोप लगाए। कतिले एन्फा अध्यक्ष शेर्पालाई पनि मुछे।
फेसबुक पोस्टका कारण विवाद भएपछि एन्फाले छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयाई गुहार्यो। मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मा दियो।
त्यही बीचमा विवाद समाधानका लागि भन्दै नेम्वाङ र अलमुताइरीबीच भेट भयो। सो भेटमा अलमुताइरीले पत्रकारको पोस्टमा लाइक गरेकाले उक्त स्टाटस लेखेको बताएको स्रोत बताउँछ। त्यतिबेला विवाद समाधानका लागि दुबैले संयुक्त विज्ञप्ति निकाल्ने सहमति भएको थियो। तर अहिलेसम्म संयुक्त विज्ञप्ति निकालिएको छैन।
साउन तेस्रो सातादेखि काम सुरू गरेको छानबिन समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष नेम्वाङ, प्रशिक्षक अलमुताइरीसहित १४ जनासँग बयान लिएको थियो।
जसको प्रतिवेदन गत बुधबार सार्वजनिक गरिएको थियो। प्रतिवेदनले एन्फा विवादको मुख्य कारण ‘सामाजिक सञ्जालको अध्याधिक प्रयोग’ भनेको छ। यस्तै आचार संहिता नहुँदा पनि समस्या आएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले घुमाउरो रूपमा अलमुताइरीको दोष देखाएको छ।
प्रतिवेदनको सुझाव र सिफारिसको दोस्रो नम्बर बुँदामा भनिएको छ- कुवेती नागरिक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रोलाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यावसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ। उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्न पर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एवं भूमिकाका बारेमा प्रश्न उठाउने देखिदैँन।
प्रतिवेदनले उनको प्रशिक्षणमाथि प्रश्न उठाएको छैन। प्रतिवेदनमा उनको क्षमतामा प्रश्न नउठेको उल्लेख गरिएको छ।
प्रतिवेदनको तेस्रो बुँदामा अलमुताइरीले विवादास्पद राजीनामासम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषदबाट निर्देशन दिनुपर्ने सुझाव दिएको थियो।
प्रतिवदेनले विवादास्पद पोस्ट हटाउन सिफारिस गरेको केहीबेरमै अलमुताइरीले फेसबुकमा अर्को पोस्ट गर्न भ्याइहाले। उनले प्रतिवेदनमा आफू असन्तुष्ट रहेको संकेत गर्दै लेखे -आई एम आउट... लेट पोलिटिस्क वर्क।
उक्त स्टाटसपछि कतिपयले अलमुताइरीले राजीनामा दिने अड्कल काटेका थिए। तर मानिसहरूको अड्कल मिलेन।
अमुताइरीले नेपाली टिमको नेतृत्व गर्दै प्रशिक्षण गराइरहेका छन्। बिहीबार र आइतबार उनको नेतृत्वमा नेपालले भारतसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसपछि उनी नेपाली टिम लिएर कतार जाँदैछन्। कतारमा प्रशिक्षण गरेपछि नेपाली टिम साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स जानेछ।
छानबिन समितिको प्रतिवेदनमा असन्तुष्ट रहेको संकेत गरेका अलमुताइरीले फेसबुकको उक्त विवादास्पद पोस्ट हटाएका छैनन्। यसविषयमा बुझ्दा एन्फाले कुनै निर्देशन नआएको बताउने गरेको छ।
सामाजिक सञ्जालका कारण अलमुताइरी विवादमा आएपछि एन्फाले त्यसलाई ‘उनको बानी’ भन्ने बुझेको छ।
‘कसैको बानी सामाजिक सञ्जालमा अनेक लेख्ने हुन्छ। सामाजिक सञ्जाललाई सिरियस्ली लिने र प्रतिक्रिया जनाउने गर्छन्। अलमुताइरीले पनि त्यस्तै गरेको जस्तो लाग्छ,’ एन्फा स्रोत भन्छ, ‘नेपालमा सामाजिक सञ्जालमा जसले जे मन लाग्छ त्यही लेखेको अलमुताइरीले देखेका छन्। जे लेखे पनि यहाँ केही नहुने उनको बुझाइ हुन सक्छ। कुवेतमा भएको भए यस्तो लेख्न सक्दैन थिए भन्ने लाग्छ।’