भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीका आमाबुबा नेपालीमूलका हुन्।
उनका बुबा केबी क्षेत्री झापा अर्जुनधारा र आमा सुशीला झापाको बाहुनडाँगीमा जन्मिएका हुन्।
सुनीलका बुबा भारतीय सेनाका अफिसर थिए। बुबाले भारतीय आर्मी टिमबाट फुटबल खेलेका थिए। आमा पनि फुटबल खेलाडी हुन्। आमा सुशीलाले नेपाली टिमबाट खेलेकी थिइन्।
सुनीलको जन्म भारतको तेलङ्गना (तत्कालिन आन्द्रप्रदेश) भएको थियो। भारतमै हुर्केका उनी आमाबुबाकै कारण खेलप्रति आकर्षित भए।
‘मेरो ममी र ड्याडी फुटबल खेल्नुहुन्थ्यो। उहाँहरूको फुटबलमा रुची नभएको भए म यहाँ हुँदैन थिए होला,’ सुनीलले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने।
‘बुबा आर्मीमा भएकाले विभिन्न स्थानमा गइरहनुहुन्थ्यो। त्यसैले मलाई ममीले स्पोर्टिङ कल्चर दिनुभयो।’
सुनीलका मामाहरू पनि फुटबल खेलाडी थिए। साइँला मामा गणेश पाण्डेले त नेपाली टिमबाट खेलेका थिए।
सबै आफन्त नेपालमा रहेकाले ३७ वर्षीय सुनीलसँग नेपालसँग भावनात्मक सम्बन्ध छ।
‘ममी नेपालबाट हुनुहुन्छ। ड्याडी पट्टीको पनि सबै जना नेपालबाट हुनुहुन्छ। मेरो मामाहरू काठमाडौंमा बस्नुहुन्छ। पहिलादेखि नै बुबा आर्मीमा भएकाले म भारतमा बसे। पूरा जेनेरेसनको मान्छेहरू नेपालबाट थिए। मसँग नेपालप्रति ‘सफ्ट कर्नर’ छ। अहिले पनि धेरै परिवारका सदस्यहरू यही हुनुहुन्छ। झापामा, काठमाडौंमा र पोखरामा हुनुहुन्छ,’ उनले भने।
भारतीय टिमको नेतृत्व गरिरहेका सुनील फुटबलमै व्यस्त रहेकाले नेपालमा रहेका आफन्तसँग भेट्ने अवसर भने बिरलै जुर्ने गर्छ।
उनले भने, ‘धेरै समय भेट हुँदैन। तर सम्पर्कमा भने रहिरहन्छु। नेपालसँगको खेल सकिन्छ अनि यहाँ रहेका आफन्तलाई भेट्नेछु। मामामाइजु, भाइबहिनीसँग भेट्न कोशिस गर्छु।’
सुनील अहिले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि काठमाडौंमा आएका हुन्। उनको कप्तानीमा रहेको भारतीय टिमले दशरथ रंगशालामा नेपालसँग भोलि बिहीबार र आइतबार गरी दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
नेपालविरुद्ध ५ गोल गरिसकेका सुनील भारतीय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले सन् २००५ भारतीय टिममा डेब्यू गरेयता ११८ खेलमा ७४ गोल गरिसकेका छन्।