सन् २००८ मा नेपाली राष्ट्रिय टिममा रहेका तीन जना गोलकिपरबीच तीव्र प्रतिस्पर्धा थियो। किरणकुमार लिम्बु, रितेश थापा र विकाश मल्ल मध्ये एक जनालाई पहिलो रोजाइमा खेलाउने निर्णय गर्न प्रशिक्षकलाई गाह्रो पर्थ्यो।
रितेश र विकासभन्दा जुनियर भए पनि किरणलाई आफ्नो उचाइको फाइदा थियो। ६ फिट २ इन्च अग्ला किरणले सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरे।
कम्बोडियामा भएको एएफसी च्यालेञ्ज कपको छनोटमा उनले मकाउविरुद्ध पहिलो रोजाइमा खेल्दै राष्ट्रिय टिममा डेब्यू गरे।
१८ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेको उक्त दिन उनका लागि खराब सावित भयो। उनी खेलको २४ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भए। विपक्षी खेलाडीसँग ठोक्किदा उनको बङ्गारामा चोट लाग्यो। रितेश थापालाई गोलपोस्ट सुम्पिदै किरण बाहिरिए।
‘डेब्यू गर्दा १८ वर्षको थिएँ। डेब्यू खेलमै घाइते भएर मैदान छाडनु परेको थियो,’ उनले भने, ‘अब फुटबलमा फर्किन्छु वा फर्किन्न भन्ने पक्का थिएन। त्यसपछि मैले आफैसँग लडेँ।’
आफैसँगको लडाइँ उनले तीन वर्षसम्म लड्नु पर्यो। घरेलु फुटलब थ्रीस्टारबाट खेल्दै उपाधि जित्न सफल भए। राष्ट्रिय टिमका लागि निरन्तर मिहिनेत गरिरहे।
सन् २०११ बाट फेरि राष्ट्रिय टिममा पुनरागमन गरे। पोखरामा भएको भुटानविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै उनी राष्ट्रिय टिममा फर्किए। त्यतिबेला पनि उनको प्रतिस्पर्धा विकास र रितेशसँग नै थियो।
तर किरण सधैं अब्बल ठहरिए। त्यसयता राष्ट्रिय टिममा निरन्तर पहिलो रोजाइमा खेल्ने मौका पाए।
उनीसँगै खेलेका विकास अहिले राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकको भूमिकामा छन्। रितेश म्याच फिक्सिङ प्रकरणमा मुछिपछि फुटबलबाट बाहिर छन्।
आफैसँगका सहकर्मी सक्रिय फुटबलबाट टाढा भइसक्दा पनि उस्तै लयमा खेलिरहेका किरणले आइतबार नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाए।
दशरथ रंगशालामा भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि पहिलो रोजाइमा परेसँगै उनको राष्ट्रिय टिमबाट खेल संख्या ७४ पुगेको छ। यसअघि बिहीबार किरणले विराज महर्जनको नाममा रहेको राष्ट्रिय टिमबाट खेल्ने सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेका थिए।
‘मलाई राष्ट्रिय टिमबाट खेल्न पाएकोमा गर्व छ। २००८ देखि २०२१ सम्मको राष्ट्रिय टिमको यात्रा सजिलो थिएन। राष्ट्रिय टिममा सर्वाधिक खेल खेल्दैछु। खुसी छु। अझ लामो यात्रा गर्नुछ,’ सर्वाधिक खेलको कीर्तिमानबारे किरण भन्छन्।
‘इतिहास भन्ने बनिरहन्छ। तर देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरो हो। आगामी दिनमा अझ राम्रो खेल्ने प्रयत्न गर्नेछु। भविष्यमा पनि देशलाई योगदान दिन कहिल्यै रोकिन्न।’
हाल राष्ट्रिय कप्तानको भूमीकामा रहेका किरणले सन् २०१८ को साफ च्याम्पियनसिपमा पहिलो पटक कप्तानको जिम्मेवारी पाएका थिए। गत चैतमा नेपालमा भएको थ्री नेसन्स कपदेखि उनलाई औपचारिक रूपमा कप्तानको जिम्मेवारी दिइएको थियो। थ्री नेसन्स कपमा विराज महर्जनले संन्यास लिएपछि किरण निर्विकल्प कप्तान बने।
उनले नेपाली टिमबाट सन् २०१६ को एएफसी सोलिडारिटी कप र गत चैतमा भएको थ्री नेसन्स कपको उपधि जित्ने अवसर पाएका छन्।
गत चैतमा दशरथ रंगशालामा भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल हराएपछि किरणले राष्ट्रिय टिमको कप्तानको रुपमा पहिलो पटक उपाधि उचाल्ने अवसर पाएका थिए।
थ्री नेसन्स कप जित्नुअघि उनले भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। लिगका १५ खेल मध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए। जुन सिजनकै सर्वाधिक क्लिनसिट हो। जसका कारण उनले सिजनको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए। राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले केही महिनाअघि एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।
यसअघि सन् २०१८ मा किरण माल्दिभ्सको लिगमा पनि उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
किरणले गत वर्ष पञ्जावबाट तेस्रो सिजन आइ लिग खेले। किरणले त्यसअघिको सिजनमा पनि पञ्जावबाटै खेलेका थिए।
एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
बाल्यकालमा किरण आफ्नो फुटबल टिमको स्ट्राइकरको पोजिसन सम्हाल्थे। धनकुटाको राजारानीमा कहिले डिफेन्डरको भूमिकामा पनि खेल्नु पर्थ्यो किरणलाई।
अग्ला कदका किरणलाई एक दिन गोलकिपर खेल्ने प्रस्ताव आयो। यसका लागि पनि उनी तयार भए।
पहाडी जिल्ला भए पनि किरणको गाँउ राजारानीमा फुटबलको औधी क्रेज थियो। गाउँमा ठूलो फुटबल मैदान थियो। स्थानीयहरू फुटबलमा झुम्मिन्थे। किरणलाई पनि फुटबल मन पर्थ्यो।
स्थानीयस्तरमा आफूलाई स्थापित गरेपछि किरण जिल्लास्तरमा पनि छाउन थाले। यु-१६ प्रतियोगिगता खेल्न काठमाडौं आए। त्यो उनको पहिलो राजधानी भ्रमण थियो।
उनको जिल्लाले स्कुलस्तरीय प्रतियोगितामा सेमिफाइनलमा हार बेहोर्यो। त्यसपछि सिनियरहरूले उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा भाग लिन सुझाव दिए। त्यसपछि उनी एन्फा एकेडेमीका लागि छनोट भएका थिए।
एन्फाबाट पास आउट भएपछि उनले क्लब करिअर सुरु गरे। लगत्तै उनी सन् २००८ मा राष्ट्रिय टिमका लागि बोलाइए।
सन् २००८ मा कोम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लागि उनी राष्ट्रिय टिमका लागि बोलाइएका थिए।
मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका चेमजोङले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।