सन् १९८० दशकको सुरूवातमा बनेको नेपाली राष्ट्रिय महिला टिमले १९८६ मा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेको थियो।
हङकङमा भएको एएफसी महिला च्याम्पियनसिपमा नेपाल आयोजक हङकङ, थाइल्यान्ड र इन्डोनेसिया सम्मिलित समूहमा परेको थियो।
सन् १९८६ डिसेम्बर १४ मा नेपालले हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्यो। डेब्यू खेलमा नेपाल १-० गोलले पराजित भयो। दोस्रो खेलमा थाइल्यान्डसँग ५-० तथा तेस्रो खेलमा इन्डोनेसियासँग ६-० ले पराजित भएको नेपालको डेब्यू प्रतियोगिता सुखद् रहेन।
त्यसयता नेपालले ६७ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ। जसमा ३५ खेलमा जित निकाल्दा ४ खेलमा बराबरीमा रोकिएको छ। नेपाल २८ खेलमा पराजित भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३५ वर्षमा ६७ खेल खेलेपछि नेपाली महिला टिमले दशरथ रंगशालामा बल्ल खेल्ने अवसर पाएको छ। बिहीबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा मैदान उत्रने पक्का नेपालले दशरथ रंगशालामा डेब्यू गर्ने भएको हो।
आगामी महिना हुने एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगालदेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
उज्वेकिस्तानमा हुने छनोटमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्नेछ। सो छनोटमा शीर्ष हुन सके नेपाल आगामी वर्ष भारतमा हुने एसियन कप खेल्न पाउनेछ।
नेपालले घरेलु मैदानमा यसअघि नखेलको भने होइन। दुई वर्षअघि नेपालले महिला साफ च्याम्पियनसिपको आयोजना गरेको थियो। तर त्यतिबेलामा दशरथ रंगशालामा मर्मतको काम जारी रहेकाले साफ च्याम्पियनसिप विराटनगरमा आयोजना गरिएको थियो।
केही महिनापछि नेपालले १३औं साग आयोजना गर्यो। सागमा पुरुष फुटबलको प्रतिस्पर्धा दशरथ रंगशालामा आयोजना भए पनि महिला प्रतिस्पर्धा पोखरामा भएको थियो। जसका कारण महिला टिमले दशरथ रंगशालामा डेब्यू गर्ने अवसर पाएन।
नेपाली फुटबल टिमकी सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी सावित्रा भण्डारी साम्बाले दशरथ रंगशालामा डेब्यू गर्न अझै बाँकी छ। घाइते भएका कारण मैदान बाहिर रहेकी साम्बाले राष्ट्रिय टिमका लागि ३८ गोल गरेकी छिन्। तर साम्बाले दशरथ रंगशालामा गोलको खुसी अझै मनाउन पाएकी छैनन्।
सन् १९८६ को एएफसी च्याम्पियनसिप खेलेपछि नेपाली महिला टिम सन् १९८९ र १९९९ गरी को च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्यो। तर समूह चरणबाट कहिल्यै माथि उल्कन सकेन। सबै खेलमा पराजित भएको नेपालले सन् १९९९ मा एक गोल गर्न सक्यो। नेपालका लागि पेमा डोल्मा लामाले उज्वेकिस्तानविरुद्ध गोल गरेकी थिइन्। सो खेलमा नेपाल ६-१ गोलले पराजित भएको थियो।
१९८९ देखिको १० वर्ष नेपाली महिला टिम अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गरेन। सन् २००० मा घरेलु महिला प्रतियोगिता सुरु भएपछि महिला फुटबलले केही गति लिन सक्यो।
दक्षिण एसियाली खेलकुद (साग) मा सन् २०१० देखि मात्र महिला फुटबलमा प्रतिस्पर्धा थालेपछि नेपालले दक्षिण एसियाली स्तरमा पहिलो पटक प्रतिस्पर्धा गर्ने मौका पायो।
बंगालदेशमा भएको सन् २०१० साग गेम्समा नेपालले उत्कृष्ट खेल देखायो। घरेलु टिम बंगलादेशविरुद्ध १-० जित निकाल्दै नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्त गरायो। सो सागमा नेपाली टिम फाइनलमा भारतसँग पराजित हुँदा रजत पदकमै चित्त बुझाउन बाध्य भयो।
सन् २०१६ र सन् २०१९ को सागमा पनि नेपाली टिम स्वर्ण पदकको प्रतिस्पर्धामा भारतसँगै पराजित भयो।
सागमा महिला फुटबल समावेश भएको वर्ष २०१० मा महिला साफ च्याम्पियनसिप सुरू भयो। महिला साफको पहिलो संस्करण बंगलादेशको कक्स बजारमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्यो। फाइनलमा भारतसँग १-० गोलले पराजित हुँदा उपविजेतामै सीमित भयो।
महिला साफका पाँच सस्करण मध्ये नेपाल चार संस्करणको फाइनलमा पुगेको छ। तर चारै संस्करणको फाइनलमा नेपाली टिम भारतसँग पराजित भयो।