नेपाली राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएपछि अब्दुल्लाह अलमुताइरीले विदेशको युवा टिमबाट फुटबल खेल्ने दुई जना खेलाडीलाई प्रारम्भिक टिममा स्थान दिएका थिए।
गत चैत ३१ गते घोषणा गरिएको ३२ सदस्यीय टिममा कोरियामा बस्दै आएका २० वर्षीय मनिष डाँगी र कतारी क्लबबाट खेल्दै आएका १९ वर्षीय श्यान्सु भुसाललाई समेटेका थिए।
फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ का प्रारम्भिक टिममा परेका मनिषले भने अन्तिम टिममा पनि स्थान बनाउन सफल भए।
प्रशिक्षक अलमुताइरीको मन जितेका मनिषले गत २९ मेमा राष्ट्रिय टिममा डेब्यू गरे। पूर्वएसियन च्याम्पियन इराकविरूद्धको मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका मनिषले डेब्यू खेलमै गोल गर्न सफल भएका थिए। सो खेलमा नेपाल ६-२ ले पराजित भएको थियो।
त्यसयता मनिष नेपाली टिममा निर्विकल्प रूपमा रहन सफल भए। जसका कारण मनिष साफ च्याम्पियनसिपमा नेपालको प्रमुख फरवार्डको रूपमा छनोट भए।
गत शुक्रबार माल्दिभ्समा सुरू भएको साफ च्याम्पियनसिपमा मनिषले आफ्नो क्षमता प्रमाणित गरे। मनिषले घरेलु टिम माल्दिभ्सविरूद्ध सनसनीपूर्ण गोल गर्दा नेपालले १-० गोलको ऐतिहासिक जित निकालेको छ।
नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गरेको यो पहिलो पटक हो। यसअघि साफमा नेपालले माल्दिभ्सविरूद्ध ७ खेल खेल्दा एकमा पनि जित निकाल्न सकेको थिएन। सातमध्ये नेपालले पाँच खेलमा हार व्यहोर्दा दुई खेलमा बराबरी खेलेको थियो।
समग्र तथांकमा नेपालले माल्दिभ्सलाई २२ वर्षपछि हरायो। पछिल्लो पटक सन् १९९९ को साग गेम्समा नेपालले माल्दिभ्सलाई २-१ ले हराएको थियो।
२२ वर्षपछि माल्दिभ्सविरूद्ध जित निकाल्दा मनिषले गरेको गोल उत्कृष्ट थियो। मध्यभागमा विशाल राईले मिलाएको पासमा मनिषले माल्दिभ्सका दुई खेलाडीलाई छक्काएर बल अघि बढाएका थिए। माल्दिभ्सका तेस्रा खेलाडीले पनि उनलाई रोक्न सकेनन्। त्यसपछि उनले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गरे। उनको प्रहारलाई माल्दिभ्सका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन्।
प्रशिक्षक अलमुताइरीले मनिषलाई ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिराएका थिए। त्यसको १७ मिनेटपछि उनले दर्शनीय गोल गर्दै नेपाललाई साफमा सुखद् सुरूवात दिलाउन सफल भए।
दक्षिण कोरियामा हुर्किएका मनिष तीन वर्षदेखि नेपालमा फुटबल खेल्दै आएका छन्।
रोजगारीको सिलसिलामा मनिषको परिवार कोरियामा बस्दै आएको छ। उनका बुबाको सात वर्षअघि कोरियामै निधन भएको थियो।
बुबाको इच्छा छोराले नेपाली राष्ट्रिय टिमबाट फुटबल खेलोस् भन्ने थियो। त्यसैले मनिष नागरिकता बनाउने उमेर पुगेपछि सन् २०१८ नेपाल आएका थिए।
संयोग मान्नु पर्छ नागरिकता बनाउन नेपाल आएको बेला उनले सहिद स्मारक सी डिभिजन लिग खेल्ने मौका पाए। उनले त्यतिबेला खालीबारी क्लबबाट खेलेका थिए। अन्तिम तीन खेल खेल्दै पाँच गोल गरे। सो सिजन खालीबारी सी डिभिजन लिग च्याम्पियन बनेको थियो।
त्यसपछि सन् २०१९ मा उनले यू-१८ साफ च्याम्पियनसिपका लागि नेपाली टिममा स्थान बनाए। नेपालको यू-१८ टिमका तत्कालिन प्रशिक्षक चेतनारायण श्रेष्ठले मनिषको खेल्ने शैली कोरियन फुटबलरको जस्तै भएको प्रतिक्रिया दिएका थिए।
उनी मैदानमा तीव्र गतिमा बल कुदाउन र नियन्त्रण गर्न माहिर छन्। पाएका अवसरमा उनी कमै चुक्ने गर्छन्।
मनिषको खेल हेरेपछि प्रशिक्षक श्रेष्ठले पाएको अवसर मध्ये मनिषले ९० प्रतिशतलाई उपयोग गर्ने दाबी गरेका थिए।
मनिषले सन् २०१९ मा नेपालमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपाली टिमको पहिलो रोजाइको फरवार्डको रूपमा खेलेका थिए।
प्रतियोगिता उनले माल्दिभ्सविरूद्ध बराबरी गोल फर्काएका थिए। भुटानसँगको खेलमा ३-० गोलले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
मनिषले नेपालको यू-१९ टिमबाट पनि खेले। सन् २०१९ मा इरानमा भएको एफसी यू-१९ च्याम्पियनसिपको समूह ‘डी’को छनोटमा मनिष नेपाली टिममा थिए।
मनिषले दश वर्षको उमेर फुटबल खेल्न थालेका थिए। कोरियाको एकेडेमीमा फुटबल सिकेका उनले सन् २०१७ मा कोरियाको जुनियर हाइ स्कुल लिग खेलेका थिए। त्यतिबेला उनी जुनियर लिगको उच्चगोलकर्ता भएका थिए।
जुनियर स्कुल लिगमा उत्कृष्ट खेलेपछि उनी पोचेओन सिटिजन एफसीको युथ टिममा आवद्ध भएका थिए। त्यसपछि उनले कोरियन फुटबल एसोसियनले आयोजना गर्ने क्षेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाए।
कोरियामा उत्कृष्ट खेलेपछि उनको नेपालमा समेत चर्चा हुन थालेको थियो।