साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो खेलमा जित निकालेसँगै नेपालले फाइनलतर्फ पाइला अघि बढाएको छ।
सोमबार राति माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले श्रीलंकामाथि ३-२ गोलको जित निकाल्यो।
तीन वर्षअघि ढाकामा भएको साफमा भुटानलाई ४-० ले हराएयता नेपालले खेलेका अन्तर्राष्ट्रियमा पहिलो पटक दुईभन्दा बढी गोल गर्न सकेको हो।
श्रीलंकाविरूद्ध नेपालका लागि तीन फरक खेलाडीले गोल गर्न सफल भए। पहिलो हाफमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा अन्जन बिष्ट र आयुष घलानले एक एक गोल गर्न सफल भए।
सुमन र आयुषले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन्। अन्जनले भने नेपालका लागि छैठौं अन्तर्राष्ट्रिय गोल गरे।
सन् २०१४ फिलिपिन्सविरूद्धको खेलमा डेब्यू गरेका अन्जनले सन् २०१९ मा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
अन्जनले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेईविरूद्धको खेलमा डेब्यू गोल गरेका थिए। ताइपेईलाई नेपालले उसैको मैदानमा २-० ले हराउँदा दुबै गोल अन्जनले गरेका थिए।
त्यसपछि कोभिडका कारण एक वर्ष अन्तर्राष्ट्रिय खेल हुन सकेन।
सन् २०२१ मा भने २३ वर्षीय अन्जन लयमा देखिएका छन्। उनले यो वर्ष चार गोल गरिसकेका छन्। श्रीलंकाविरूद्ध सोमबार गोल गरेका अन्जनले भारतसँगको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए।
यस्तै ताइपेईविरूद्ध विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलमा पनि अन्जन सफल भए।
४५ खेल खेल्दै ६ अन्तर्राष्ट्रिय गोल गरेका अन्जनले आफ्नो लक्ष्य नेपालका लागि पुरुषतर्फ सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने भएको बताए।
श्रीलंकाविरूद्धको खेलमा प्लेयर अफ दि म्याच भएका उनले भने, ‘अहिले १३ गोलमा रेकर्ड अड्किरहेको छ। नेपालमा फरवार्डले मात्र गोल गर्नुपर्छ भन्ने। तर फरवार्डले मात्र होइन सबैले गोल हान्छ। अहिले मिडफिल्डरले पनि गोल गरेका छन्। १३ गोलको त्यो रेकर्ड तोड्ने मेरो पनि चाहना छ। त्यसका लागि मिहिनेत गर्छु।’
पुरुषतर्फ नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड हरि खड्का र निराजन रायमाझीको नाममा छ। २००० देखि २००८ सम्म खेलेका रायमाझीले २० खेलमा १३ गोल गरेका थिए। यस्तै हरि खड्काले १९९५ देखि २००६ सम्ममा नेपाली टिमबाट ३५ खेल खेल्दा १३ गोल गरेका थिए।
नेपालका लागि जुमानु राईले ११ गोल, अनिल गुरूङ र भरत खवासले १०-१० गोल गरेका छन्।
विमल घर्तीमगरले ८ गोल गर्दा नवयुग श्रेष्ठ र बसन्त थापाको नाममा ७-७ गोल छ। अन्जन विष्टसँगै नरेश जोशीले नेपालका लागि ६ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
अन्जनको पाँच वर्षको प्रतिक्षा
सन् २०१४ अक्टोबर १४ मा नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गर्दा अञ्जन १६ वर्षका थिए। कतारको राजधानी दोहामा फिलिपिन्सविरूद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमको जर्सी लगाएर पहिलो पटक मैदान छिर्दा अञ्जनले अनुभवी डिफेन्डर सन्दीप राईलाई प्रतिस्थापन गरेका थिए।
क्लब फुटबलमा चलेका मिडफिल्डरमा पर्ने अञ्जनको लागि राष्ट्रिय टिममा स्थान पक्का हुने गरे पनि पहिलो रोजाइ पर्न संघर्ष गरिरहनु परेको थियो।
विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोटअन्तर्गत दुई वर्षअघि कुवेतसँगको पहिलो खेलमा पनि अञ्जनले सब्सिच्युट खेलाडीको रूपमा मात्र मौका पाए। कुवेत सिटीमा भएको खेलमा विमल घर्तीमगरको स्थानमा ८२ मिनेटमा अञ्जन मैदान छिर्दा नेपालले ५ गोल खाइसकेको थियो। त्यसपछि नेपालले थप २ गोल खादा ७–० को पीडादायी हार खेप्न बाध्य भयो।
कुवेतसँग ७ गोल खाएको पाँच दिनपछि नेपालले छनोटको दोस्रो खेलमा चाइनिज ताइपेईविरूद्ध उसैको मैदानमा खेल्नु चुनौतीपूर्ण थियो। अघिल्लो हारको पीडा भुलाउन नेपालका लागि जितको विकल्प थिएन।
त्यसैले खेलका लागि तत्कालीन प्रशिक्षक योहान कालिनले महत्वपूर्ण परिवर्तनको रूपमा मिडफिल्डर विक्रम लामाको स्थानमा अञ्जनलाई पहिलो रोजाइमा मौका दिए। घाइते भएका अजित भण्डारीको स्थानमा दिनेश राजवंशी र सुमन अर्यालको सट्टा रञ्जित धिमाललाई अवसर दिइएको थियो।
तीन परिवर्तनमा अञ्जन प्रभावकारी सावित भए। उनले टिमका लागि चौथो मिनेटमै गोल गर्न सफल भए। त्यो गोल नेपालले एक वर्षको अवधिमा गरेको दोस्रो गोल थियो। त्यसअघि २०१८ जुनमा चाइनिज ताइपेईविरूद्ध नै अभिषेक रिजालले मात्र नेपालका लागि एक वर्षको अवधिमा गोल गर्न सकेका थिए।
अञ्जनले डेब्यू गरेको पाँच वर्षपछि पहिलो अन्तर्राष्ट्रिय गोल गरे। ताइपेईविरूद्ध अञ्जनले ६४ मिनेटमा दोस्रो गोल गरे। डिबक्स भित्रबाट उनले गरेको गोल आकर्षक थियो।
अन्तत: नेपालले सन् २०११ पछि विश्वकप छनोटमा पहिलो जित हात पार्न सफल भयो।
नेपालले एक वर्षको अवधिमा हात पारेको त्यो पहिलो जित थियो। साफ च्याम्पियनसिपअन्तर्गत २०१८ को सेप्टेम्बर ८ मा बंगलादेशलाई २-० ले हराएर सेमिफाइनल पुगेपछि नेपाल लगातार ९ खेल जितविहीन बनेको थियो।