विभागीय भए पनि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब सहिद स्मारक ए डिभिजन लिगको कमजोर टिममा पर्छ।
यो टिमलाई सधैं रेलिगेसनबाट कसरी बच्ने भन्ने चिन्ता हुन्छ। यो सिजन पनि एपिएफ यहि चिन्ताबाट गुज्रिरहेको छ।
सुरुवाती दुई खेलमा हार बेहोरेको एपिएफ अंक तालिकाको पुछारमा छ। पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोलले पराजित भएको एपिएफ दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-० गोलले हार्यो।
च्यासलसँग पराजित भएपछि एपिएफका प्रशिक्षक कुमार थापाले दिएको प्रतिक्रिया अहिले चर्चामा छ।
उनले भनेका थिए,'मासिक २ लाख तलब खाने खेलाडी र प्रहरी जवानको तलबमा खेल्ने खेलाडीको तुलना हुँदैन।'
यो भनाइबाट पनि एपिएफ यो सिजन रेलिगेसनबाट बच्नकै लागि संघर्ष गर्ने देखिन्छ।
अहिले कुमार थापाले बोकिरहेको चिन्ता गत सिजन राजेन्द्र तामाङले बोकेका थिए। उनले एपिएफमा दुई सिजन बिताउँदा क्लबलाई कसरी रेलिगेसनबाट बचाउने भन्ने मात्र रणनीति बनाए।
२०७२ सालमा थ्रीस्टारको प्रशिक्षक रहेपछि एपिएफ पुगेका राजेन्द्रका लागि गत सिजन तनावपूर्ण रह्यो।
'त्यतिबेला एपिएफलाई कसरी रेलिगेसनबाट बचाउने चिन्ता मात्र हुन्थ्यो,' जारी लिगको पहिलो चरणको खेल सकिएपछि राजेन्द्रले भनेका थिए,'अन्त्यतिर बल्लबल्ल जोगिएका थियौं।'
एपिएफ गत सिजन १२ औं भएको थियो। खेलेका १३ खेल मध्ये एपिएफ २ खेलमा विजयी हुँदा ३ खेलमा बराबरी खेलेको थियो। ८ खेलमा भने पराजय भोगेको थियो।
यो सिजन मनाङ मस्याङ्दी क्लबको प्रशिक्षक बनेका राजेन्द्रलाई अहिले भने रेलिगेसनको चिन्ता त छैन। तर क्लबलाई कसरी च्याम्पियन बनाउने चिन्ता छ।
लिग सुरु हुनअघि उनले आफ्नो लक्ष्य मनाङलाई नवौं पटक च्याम्पियन बनाउने रहेको बताएका थिए।
तर च्याम्पियन हुनका लागि उनले हरेक खेलमा दबाब झेल्नु पर्छ। 'यो सिजन क्लबलाई कसरी च्याम्पियन बनाउने भन्ने चिन्ता छ,' मनाङका पूर्वखेलाडी समेत रहेका राजेन्द्रले भने।
जारी लिगमा मनाङले सुरुवाती दुवै खेलमा जित निकालेको त छ, तर संघर्षपूर्ण।
दुवै खेलमा मनाङले समान १-० को साँघुरो अन्तरको जित निकाल्न सक्यो। पहिलो खेलमा जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई मनाङले हराएको थियो।
मनाङको खेलप्रति राजेन्द्र सन्तुष्ट हुन सकिरहेका छैनन्। फिनिसिङमा अझ सुधार गर्नु पर्ने उनको भनाइ छ।
२०११ सालदेखि सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको सबैभन्दा बढि उपाधि जित्ने टिम मनाङ हो। मनाङ सर्वाधिक ८ पटक च्याम्पियन बनिसकेको छ।
मनाङले पहिलो पटक २०४२-४३ सालको ए डिभिजन लिग जितेको थियो।
त्यसपछि मनाङ २०४३-४४ सालमा पनि च्याम्पियन बन्यो। २०४५ सालमा लिग हुन सकेन। २०४६ सालमा च्यम्पियन हुँदै मनाङले लगातार तेस्रो पटक लिग जित्ने दोस्रो क्लबको इतिहास बनाएको थियो।
त्यसअघि २०२८, २०२९ र २०३० मा लगातार लिग जितेर रानीपोखरी कर्नर टिमले इतिहास बनाएको थियो।
मनाङले २०५७ र २०६० सालमा पनि लिग जित्यो। २०६२ सालमा लिग जितेपछि मनाङले सर्वाधिक लिग जित्ने कीर्तिमान बराबरी गरेको थियो। त्यसअघि रानीपोखरी कर्नर टिमले पनि ६ पटक लिग जितेको थियो।
२०७० मा लिग जितेपछि मनाङ सर्वाधिक लिग जित्ने क्लब बनेको थियो। मनाङले पछिल्लो पटक २०७५ मा लिगको उपाधि जितेको थियो।
नेपाली फुटबलको सर्वाधिक सफल टिम मनाङको प्रशिक्षक हुँदा उपाधिको स्वत: दबाब हुने राजेन्द्र बताउँछन्। यहि नै उनका लागि मुख्य चुनौती हो।