९ वर्ष अघि धनगढी-१९ फूलबारीमा रहेको आइगाउँको खेल मैदानमा झण्डै ५० जना बालिका दैनिक फुटबल अभ्यास गर्थे। उनीहरूमा त्यतिबेला फुटबलको भोक थियो। तर समयसँगै उनीहरूको त्यो भोक हराउँदै गयो।
५० जनाको टिममध्ये ४८ जनाले केही वर्षपछि फुटबल खेल्न सधैंका लागि छोडे।
त्यो टिमका विनिता र अस्मिताले भने फुटबलमै भविष्य देखेका थिए।
‘टिममा रहेका कसैले बिहे गरे, कसैको घरबाट सपोर्ट मिलेन, खेलकुदमा हुने चुनौतीका कारण उनीहरूले फुटबल खेल्न छोडे,’ विनिताले भनिन्, 'छोडेका साथीले भेट भएको बेला खेलेर के नै हुन्छ र? भन्ने निराशावादी कुरा गर्थे। साथीहरूले खेल्न छोडेको देखेर कहिले कहिले त भो अब नखेलौं भन्ने पनि लाग्थ्यो।'
तर फुटबलर बन्ने सपना बोकेका उनीहरूले कहिल्यै हार मानेनन्।
दैनिक अभ्यासमा खटिरहे। धनगढी उपमहानगरपालिका–१९ फूलबारी आइगाउँकी १९ वर्षीय विनिता बोहरा अहिले काठमाडौंमा एपिएफको महिला टिमसँगै फुटबल अभ्यास गर्छिन्।
उनीसँगै उनकै गाउँकी १८ वर्षीय अस्मिता चौधरी पनि छिन्। विनिता र अस्मिता राष्ट्रिय महिला फुटबल खेलाडी हुन् ।
टिभीमा फुटबल देख्दा विनितालाई यो खेलप्रति रूची सानैदेखि थियो। गाउँमा पनि साथीभाइले खेलेको देख्दा उनको मनले घरमै बस्न मानेन।
‘हाम्रो गाउँमा फुटबल खेलिरहन्थे, अरूलाई देखेर मलाई पनि खेल्न मन लाग्यो,’ उनले भनिन्।
कक्षा ५ मा पढ्दै गर्दा उनी ११ वर्षकी थिइन्। उनलाई त्यतिबेला फुटबल सिक्न जाने इच्छा बढ्न थाल्यो।
एक दिन उनले स्कुलको छुट्टीपछि फुटबल सिक्न जाने निधो गरिन्। उनलाई त्यो दिन घरमा फुटबल खेल्न जान्छु भन्न डर लाग्यो।
घरमा नसोधेरै उनी आइगाउँको मैदानमा खेल्न पुगिन्। त्यहाँ प्रशिक्षकले उनीजस्तै धेरैलाई फुटबल सिकाउँथे।
‘ड्रेस थिएन कुर्ता सुरूवालमा जान्थेँ, बल पनि हान्न आउँदैन थियो। खाली खुट्टा जान्थें, कोचले खुट्टा समातेर बल हान्न सिकाउनुभयो। दुई–तीन महिनासम्म कोचले खुट्टा समातेर हान्न सिकाउनुभयो,' विनिताले भनिन्।
पछि घरमा फुटबल खेल्ने हुँ भनेपछि ड्रेस किनेर पठाए।
गाउँमा छोरी मान्छेले फुटबल खेल्न थालिसकेकाले घरबाट पनि रोक भएन।
‘हामीसँग फुटबल सिक्ने ५० जना जति थियौं, कहिलेकाहीँ त त्योभन्दा बढी पनि हुन्थ्यौं,’ ५० जनाको ग्रुपबाट पछि सबैले छोडे, २ जनामात्रै बाँकी रह्यौं,' उनले भनिन्।
विनिताले एक वर्षजति फुटबल अभ्यास निरन्तर गरिन्। स्थानीय स्तरमा भएका प्रतियोगिता पनि भाग लिइन्।
त्यसपछि क्षेत्रीय स्तरको नवलपरासीमा भएको प्रतियोगितामा उनी पहिलो पटक सहभागी बनेकी थिइन्।
धनगढीको १९ जनाको टिममा उनी पनि छनोट भइन्। उनको टिमले त्यहाँ फर्स्ट म्याच जितेको थियो। तर, सेकेन्ड म्याच हाऱ्यो।
‘क्षेत्रीय स्तरको प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लाग्यो। म्याच नजिते पनि अनुभव बटुल्न पाएकी थिएँ,’ उनले सुनाइन्।
त्यसपछि विनिताले सानोतिना जिल्लास्तरीय गेम खेलिन्। राष्ट्रिय स्तरमा खेल्नका लागि उनी २०७५ सालमा छनोट भएकी थिइन्।
अहिले भर्खरै काठमाडौंमा भएको मेयर–उपमेयर कपमा पनि उनले बेतकोट नगरपालिकाबाट खेलेकी थिइन्।
साथीहरूजस्तै पहिले नै खेल्न छोडेको भए, अहिले राष्ट्रिय खेलाडी बन्ने थिएन होला भन्ने उनलाई लाग्छ।
‘साथीहरूले झैं के नै पो हुन्छ र भनेर छोडेको भए म राष्ट्रिय खेलाडी हुन्नथें। त्यसैले सपना देख्न पर्ने रहेछ भन्न लागेको छ। तर फुटबलको सुरूआत त भर्खर भएको हो। मलाई कोचले धेरै सहयोग गर्नुभयो। अहिलेसम्म पनि उहाँको सपोर्टले अझै राम्रो गर्ने आँट मिल्छ। घरपरिवारले पनि एकदम सहयोग गर्छन्। मम्मीले खेल्नुपर्छ भन्नुहुन्छ,’ उनले भनिन्।
उनी अहिले दैनिक ३ घण्टा एपिएफको टिमसँगै फुटबल अभ्यास गर्दैछिन्।
‘एपिएफका सिनियर दिदीहरूले पनि अभ्यासमा सहयोग गर्छन्। खेल्नुपर्छ, खेलेर केही बनेर देखाउनु पर्छ बहिनीहरू भन्छन्, उनीहरूको सल्लाह र सहयोगले धेरै ऊर्जा मिल्छ, उनले भनिन् ।
१८ वर्षीय अस्मिताले विनिताभन्दा एक वर्षपछि फुटबल सिकेकी हुन्। विनिताले खेल्न थालेको देखेर फुटबलप्रति रूची भएको हो। मम्मीबुवाले अनुमति दिएपछि उनी पनि दैनिक फुटबल अभ्यास गर्न गइन्।
उनी २०७५ सालमा राष्ट्रिय टोलीमा छनोट भएकी थिइन्।
उनले साफ अन्डर १५, यु १६ खेलिसकेकी छिन्।
यस्तै, प्रधानसेनापति कप, मेयर-उपमेयर कपलगायत स्थानीय स्तरदेखि जिल्ला प्रदेश, नगरमा हुने थुप्रै प्रतियोगितामा सहभागी भएर खेलेकी छन्।
‘कसैको पैसा हुँदैन, कसैको परिवारले सपोर्ट गर्दैनन्, यही कारण फुटबलर बन्नेहरूलाई चुनौती छ तर खेल खेल्न आँट चाहिन्छ सक्छु भनेर लागेपछि सकिन्छ पनि,’ अस्मिताले भनिन्।
खेलकुद प्रतियोगिता थोरै हुने भएका कारण पनि महिला खेलाडीहरूले पलायन हुनुपर्ने अवस्था सिर्जना हुने गरेको उनको बुझाइ छ।
‘यहाँ प्रतियोगिता हुन चार/ चार वर्ष लाग्छ। ग्याप नभएर निरन्तर प्रतियोगिता भए, खेलाडीलाई हौसला, आत्मबल बढ्थ्यो,’ उनले भनिन्।
विगतमा खेल्ने धेरैले फुटबल छोडे पनि अहिले यस क्षेत्रबाट महिलाहरू राष्ट्रिय स्तरसम्म पुगेपछि नयाँ सिक्नेहरू बढेका छन्।
फुटबल प्रशिक्षक राजेन्द्र स्नेहीका अनुसार अहिले फुलबारीमा मात्रै दुइटा महिला फुटबल टिम छन्। जसमा राष्ट्रियस्तरमा खेलिरहेका खेलाडी समावेश छन्।
‘पहिला छोरीहरूले खेल्दैन थिए। पछि उनीहरूलाई खेलाउन थाल्यौं, कतिले त डराएर बीचमा छोडे तर कतिपय राम्रो ठाउँ पुगे, अहिले यही कारण नयाँ खेल्नेहरू पनि बढेका छन्,’ उनले भने।
स्नेही विगत ९ वर्षदेखि महिला खेलाडीलाई फुटबल प्रशिक्षण गराउँदै आइरहेका छन्।
राज्यले खेलकुद गतिविधि बढाए भविष्य खोज्दै फुटबलमा आउनेहरूलाई अवसर सिर्जना हुने उनको भनाइ छ।
‘अहिले नगरस्तरीय, वडास्तरीय स्थानीय तहले आयोजना गर्ने प्रतियोगिताले सिक्नेहरूलाई अवसर मिलेको छ, त्यसैले यस्ता गतिविधि बढाउनु पर्छ, अहिले राम्रो खेल्नेलाई राम्रो ठाउँ अवसर पनि आइरहेको छ, गतिविधि कम भए सिक्नेहरू बाध्य भएर पलायन हुन्छन्,’ उनले भने।