पाँचौं संस्करणको झापा गोल्डकप आगामी फागुन २१ गतेदेखि विर्तामोडमा हुने भएको छ।
पछिल्लो २ वर्ष कोरोना महामारीका कारण रोकिएको प्रतियोगितामा फागुन ३० गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुनेछ।
गोल्डकप आयोजक समितिले आइतबार झापामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रूपमा रहेको झापालाई फुटबलको हबका रूपमा विकास गराउन झापा गोल्डकप आयोजना गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।
कोषाध्यक्ष केदार गिरीका अनुसार यो वर्ष पनि पुरस्कारहरू साविककै कायम गरिएको छ। विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रूपैयाँ पाउँदै आएका थिए।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही २१ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। यस्तै उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ। त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रूपैयाँ पाउनेछन्।
प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशका एक गरी १० वटा टिमको सहभागिता रहनेछ।
प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लाग्ने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए।
अघिल्लो वर्षजस्तै पाँचौं संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका दुई जना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले सेतोपाटीलाई बताए।
त्यस्तै, यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रूपैयाँ सहयोग प्रदान गरिने भएको छ। प्रतियोगिता सञ्चालनको लागि १ करोड ४० लाख रूपैयाँ लागत अनुमान गरिएको छ।
पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष तथा गोल्डकपका परिकल्पनाकार महेन्द्रकुमार गिरी र संरक्षक तथा गोल्डकपका परिकल्पनाकार जलकुमार गुरूङले गोल्डकपको तयारी तथा अघिल्ला संस्करणबारे विवेचना गरेका थिए।