३३ औं अफ्रिका कप अफ नेसन्स ९ जनावरीबाट क्यामरूनमा सुरू भैसकेको छ। कोरोना भाइरसका कारण एक बर्ष ढिला सुरू भएको प्रतियोगिताको समापन भने ६ फेब्रुवरीमा हुने फाइनल खेलसँगै हुने छ। २४ देशबीच प्रतिस्पर्धा हुनेछ। युरो तथा कोपा अमेरिका जस्तो चर्चामा नआए पनि यसको इतिहास र संघर्ष भने निकै रोमान्चक छ। यो प्रतियोगितालाई इतिहास, कौतुहलता, विवाद तथा मनोरञ्जनका सुन्दर मिश्रणहरूमा एक मुष्ठ नाम भन्दा पनि हुन्छ। प्रतियोगिताको विगतको इतिहास तथा वर्तमान सम्भावना बोकेका खेलाडीहरूका बारेमा यो छोटो आलेखमा चर्चा गरिने छ।
आजको अफ्रिकन फुटबललाई हेर्न हिजोको अफ्रिकन फुटबललाई हेर्नु पर्ने हुन्छ। हिजोको बारेमा बुझ्न इतिहासका पानाहरू पल्टाउनु पर्दछ। भावी पुस्ताले शिक्षा लिने पाठशाला होस या वर्तमान पुस्ताले हेर्ने ऐनाका दुबैमा अफ्रिका महादेश निकै महत्वपूर्ण छ।
पोर्चुगलको लिस्बनमा भएको तेश्रो फिफा महाधिवेशनले अफ्रिकन फुटबल महासंघ स्थापनाको प्रस्ताव राख्यो। महादेशिय प्रतियोगिता गर्ने योजनामा कोशे ढुंग्गा फेब्रुअरी १९५७ मा भयो। दक्षिण अफ्रिकाको रंगभेदी नीतिका कारण प्रतियोगितमा विवाद उत्पन्न भएको थियो। आफ्नो टोलीका लागि सेता खेलाडीहरू मात्र राख्ने दक्षिण अफ्रिकाको अडान स्वीकार्य भएन।जसका कारण दक्षिण अफ्रिकालाई अयोग्य घोषित गरियो।
अफ्रिका कप अफ नेशन्स जसलाई अफ्रिकी नेसन्स कप पनि भनिन्छ। कन्फेडरेसन अफ्रिकाइन डे फुटबलद्वारा यो प्रतियोगिता आयोजना गरिन्छ। अफ्रिकी कप अफ नेसन्स पहिलोपटक सुडानमा आयोजित भएको थियो जसमा आयोजक राष्ट्रलाई हराएर इजिप्टले पहिलोपटक उपाधि जित्यो।
१९५७ मा पहिलोपटक सुडानको खार्तुनमा इजिप्टले अब्देल अजीज अब्दल्लाह सलेम ट्रफि जित्यो। जसका दाता एक इजिप्टियन जो पहिलो काफका अध्यक्ष थिए।ट्रफि घानालाई स्थायी रूप मै प्रधान गरियो। घाना यो प्रतियोगिता तीन पटक जित्ने पहिलो देश बन्यो। अर्को ट्रफि भने अफ्रिकी एकता कप भनेर चिनिने क्यामरूनलाई २००० मा दिइयो। क्यामरूनले १९७८ पछि तेश्रो पटक उपाधि जितेको थियो। २००२ पछि भने कप अफ नेसन्स भन्ने नामाकरण गरियो।
७ पटक उपाधि जितेको इजिप्ट प्रतियोगिताको सबैभन्दा सफल देश मानिन्छ। दोश्रोमा क्यामरून जसले ५ पटक जितेको छ। त्यस्तै घाना ४ ,नाइजीरिया ३ ,आइभरी कोष्ट २,अल्जेरिया २,कंगो २,जाम्विया १, ट्युनिसिया १, सुडान १ , इथियोपिया १, मोरक्को १, प्रजातान्त्रिक गणतन्त्र कंगो १ रहेका छन्।
फिफा वरियतामा सबैभन्दा माथि रहेको यसपटकको सेनेगललाई उपाधिको दावेदार मानिएको छ। आजसम्म एउटा पनि उपाधि जित्न नसकेको कारण सेनगल दबावमा देखिन्छ। सेनेगलका मुख्य खेलाडीमा लिभरपुलका फरर्वाड साडियो माने तथा चेल्सीका गोलरक्षक एडुवार्डो मेन्डी हुन्। २०१९ को फाइनलमा अल्जेरियासंग पराजित दुबै खेलाडी सेनेगललाई पहिलो उपाधि जिताउन चाहन्छन्।
त्यस्तै अर्का चर्चित अनुहार भने मोरक्कोका असरफ हाकिमी हुन। हाकिमी रियल, डर्टमण्ड, इन्टरमा खेलिसकेका छन् भने गत जुलाईमा ७१ मिलियन डलरमा पिएसजीमा आबद्ध छन्। हाकिमीलाई संसार कै उत्कृष्ट आक्रामक फुलब्याकका रूपमा लिइन्छ। १८ बर्षको कलिलो उमेर मै उनले मोरक्कोको लागि डेब्यु गरेका थिए।अर्का चर्चित खेलाडी हुन लिभरपुलका मोहम्मद सलाह। २९ बर्षिय सलाह गत सिजनको सुरू देखि आजसम्म ५४ गोल गरिसकेका छन्। करीब १० करोड इजिप्ट जनताहरूको आशा, भरोसा र सपनाले सलाहलाई हेरिरहेको छ।
रियाद महारेज अफ्रिकी बर्ष खेलाडी। २०१९ मा अल्जेरियालाई उपाधि दिलाएका थिए। फ्रान्सको पेरिसमा जन्मिएका रियाद उच्व लयमा छन्। ३० बर्षका महारेज आफ्नो पिताका कारण अल्जेरियाबाट खेलिरहेका छन्। लेस्टर सिटीले सनसनीपूर्ण प्रिमियर लिग उपाधि जित्दा उनी टिमका प्रमुख खेलाडी थिए। २०१४ मा राष्ट्रिय टिममा डेब्यु गरेका रियाद माथि धेरैको नजर हुनेछ। अर्का खेलाडी युरोपियन महारथी ब्यार्यन म्युनिखका ६ फिट २ इन्च अग्ला चुपो मोटिंग हुन।क्यामरूनले छैटौं पटक उपाधि जित्न चुपो उच्व लयमा हुनु पर्ने छ।
आइभरी कोष्टका सेबास्टियन हालर। च्याम्पियन्स लिगको समुह चरणमा ६ खेलमा १० गोल हालरका नाममा छ। आयाक्सका हालर फ्रान्समा जन्मिएका हुन।फ्रान्सको अण्डर १७ तथा अण्डर २१ खेलेका उनले जब आफ्नै देशको लागि खेल्ने मौका पाए तब यिनको रोजाईमा फ्रान्स होइन आइभरी कोष्ट पर्यो।हालरका पिता फ्रान्सका थिए भने आमा आइभरी कोष्टकी थिइन। उनले आफ्नै आमाको देश आइभरी कोष्ट रोजे।डिडिए ड्रोग्बाको देश आइभरी कोष्टले हालरबाट धेरै आशा गरेको छ। ख६ फुट ३ इन्च अग्ला हालर चम्किन सक्ने खेलाडी हुन।
अफ्रिकालाई आधुनिक फुटबलको उर्बरभूमि मानिन्छ। चर्चामा नदेखिएका कयौं प्रतिभाहरू यो प्रतियोगिता मार्फत आउने सम्भावना प्रवल नै छ।
जति पनि विश्वका चर्चित क्लबहरू छन् प्राय सबैमा अफ्रिकीकन खेलाडीहरूको राम्रो उपस्थिति देखिन्छ।पछिल्ला दिनहरूमा क्लब, एजेण्ट, समर्थक तथा पत्रकारहरूका आँखामा अफ्रिकन खेलाडीहरू परिसकेका छन्।
शारीरिक रूपमा निकै बलिया अफ्रिकन खेलाडीहरूलाई आ-आफ्नो क्लबमा खेलाउन प्रतिस्पर्धी कलबहरूकाबीच एक प्रकारको रसाकस्सी नै चलेको देखिन्छ। विश्व कप नजिते पनि अफ्रिका महादेशले फुटबलका धेरै प्रभावशाली खेलाडीहरू पस्केको छ। फुटबलको अन्तराष्ट्रिय बजार तथा यसको लोकप्रियतामा अफ्रिकन कप अफ नेसन्स कोशेढुंगा बन्न सकोस्।