हाकिम जियाचको गोलमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। चेल्सीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १-० ले हराएको हो।
शनिबार राति भएको खेलमा जियाचले दोस्रो हाफमा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो। उनले ८९ औं मिनेटमा गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा चेल्सीले बल पोसेसन राख्दै घरेलु टोलीलाई दबाबमा राखे पनि गोलको लागि अन्तिम समय नै पर्खनु परेको थियो। ७५औं मिनेटमा हाकिम जियाचले गोल गरे पनि उनको गोलले मान्यता पाएन। उक्र गोलको मुभमा उनी अफसाइड ठहरिएका थिए।
तर, जियाचले नै ८९ औं मिनेटमा गोल गर्दै चेल्सीलाई महत्वपूर्ण जित दिलाए। यो जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक पुगेको छ।
चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १३ अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग ६ अंकले पछि छ। पराजित क्रिस्टल प्यालेस २६ अंक जोडेर १३औं स्थानमा रहेको छ।
शनिबारै लिभरपुलले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याउँदै पुछारमा रहेको नर्विच सिटीमाथि ३-१ को पुनरागमन जित निकालेको छ। एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा माने, मोहम्मद सलाह र लुइस डियाजले गोल गरे। नर्विचका मिलोट रासिकाको गोल सान्त्वना बन्यो।
यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ६ मा छोट्याएको छ। लिभरपुलको २५ खेलबाट ५७ तथा समान खेलबाटै शीर्षस्थानमा रहेको सिटीको ६३ अंक छ।