शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोटिभो अलाभेसलाई ३-० गोलले हरायो।
एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्को असेन्सियो र भिनिसियस जुनियर गोल गरे।
सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा असेन्सियोले ६३औं मिनेटमा खाता खोले। उनले बेन्जेमाको पासमा गोल गरेका थिए।
८०औं मिनेटमा भिनिसियसले बेन्जेमाकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। जारी सिजन ला लिगामा भिनिसियसको यो १३औं गोल हो।
सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहेका भिनिसियसले पाँच असिस्ट पनि दिएका छन्।
त्यसपछि इन्जुरी समयमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई फराकिलो जित दिलाए। डिबक्सभित्र रोड्रिगोलाई फ्लोरियन लेजिउनीले फल गरेपछि रियलले पेनाल्टी पाएको थियो। जसलाई बेन्जेमाले सदुपयोग गरे।
जारी सिजन ला लिगामा बेन्जेमाको यो १८औं गोल हो। सर्वाधिक गोलकर्ताको शीर्ष सूचीमा रहेका बेन्जेमाले नौ असिस्ट पनि दिएका छन्।
७० प्रतिशत बल पोसेसन राखेको रियलसामु पाहुना टोली अलाभेस निरीह बन्यो। रियलका कप्तान बेन्जेमा ‘म्यान अफ दि म्याच’ भए।
जितसँगै रियलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ। रियलको २५ खेलबाट ५७ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ। सेभियाले एक खेल कम खेलेको छ। पराजित अलाभेस २० अंक सहित १९औं स्थानमा छ।
अर्को खेलमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई उसकै मैदानमा ३-० गोलले हरायो। एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस स्वारेज र एन्जल कोरेआले गोल गरे। जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ। एट्लेटिकोकोले २५ खेलबाट ४२ अंक बनाएको छ।
पराजित ओसासुना ३२ अंकसहित नवौं स्थानमा छ। अर्को खेलमा भिल्लारियलले ग्रानाडालाई ४-१ गोलले हराएको छ। गेटाफे र काडिजले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।