पिएरे इमरिक औवामियाङले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ४–१ गोलले हरायो।
बार्सिलोनाको जितमा औवामियाङले ह्याट्रिकसँगै अर्को गोल फ्रान्की डि जोङले गरे। भ्यालेन्सियाका कार्लाेस सोलेरले एक गोल फर्काए। २३औँ मिनेटमा औवामियाङले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। ३२औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
३८औं मिनेटमा औवामियाङले गाभीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता थप बलियो बनाए। ५२औं मिनेटमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे। तर ६३औं मिनेटमा औवामियाङले पेड्रीको पासमा ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकालेको थियो।
६४ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले खेलभर घरेलु टोलीलाई दबाबमा राख्यो । औवामियाङ ‘म्यान अफ दि म्याच’ भए।
जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २४ खेलबाट ४२ अंक बनाएको छ। समान ४२ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ। पराजित भ्यालेन्सिया ३० अंक सहित १२औं स्थानमा छ ।
आइतबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको सेभिया स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको सेभियाले सुरुवाती गोल गरे पनि जोगाउन सकेन। राफा मिरले ३६औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाए ।
स्पान्योलका सर्गी डारडेरले ५०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मिनेटमा जुलेस कोउनडे रातो कार्ड पाउँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । स्पान्योलले त्यसको फाइदा उठाउन भने सकेन ।
बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको सेभियाको २५ खेलबाट ५१ अंक छ । सेभिया शीर्षटोली रियल म्याड्रिडभन्दा ६ अंकले पछाडि छ । रियलको ५७ अंक छ । २९ अंक बनाएको स्पान्योल १४औं स्थानमा छ । अर्को खेलमा रियल बेटिसले मालोर्कालाई २–१ गोलले हरायो । जितसँगै तेस्रो स्थानमा रहेको बेटिसको २५ खेलबाट ४६ अंक पुगेको छ । पराजित मालोर्का २६ अंक सहित १६औं स्थानमा छ ।
घरेलु मैदानमा एथलेटिक बिल्बाओले रियल सोसिडाडलाई ४–० गोलले पराजित गरेको छ । जितसँगै ३७ अंक बनाएको बिल्बाओ आठौं स्थानमा छ । पराजित सोसिडाड ३८ अंक सहित सातौं स्थानमा छ ।