इटालियन क्लव नेपोलीलाई हराउँदै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपोलीलाई गएराती ४–२ ले हराउँदै समग्रमा ५-३ को नतिजा निकालेको बार्सिलोना अन्तिम १६ मा पुगेको हो।
बार्सिलोनाले पहिलो लेग १–१ गोलको बराबरी खेले पनि दोस्रो लेगमा उत्कृष्ट खेल खेल्दै सहज जित निकाल्यो।
नेपोलीको घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोनामा बार्सिलोनालाई जिताउन जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरेका थिए। नेपोलीका लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए।
खेलको आठौं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।
१३औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। २३ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत देखाए।
तर ४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को स्थितिमा पुग्यो।
दोस्रो हाफमा पनि लय जारी राखेको बार्सिलोनाले ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङको गोलबाट ४-१ को अग्रतामा पुग्यो।
खेलको अन्त्यतिर ८७ औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै घरेलु टोलीलाई गोल अन्तर कम गराए पनि हारबाट जोगाउन सकेनन्। त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो।