सिजनको सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको मछिन्द्र अपराजित रहन सफल भयो।
दुई खेलअघि नै उपाधि जितेको मछिन्द्रले सिजनको अन्तिम खेलमा शनिबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २-१ गोलले पराजित गर्यो।
लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका फरवार्ड सुनील बल सहिद स्मारक ए डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी बने।
शनिबार सकिएको २०२१-२२ सिजनमा अपराजित रहँदै मछिन्द्रलाई उपाधि जिताउने क्रममा सुनीलले उत्कृष्ट प्रदर्शन गरे।
उनले ३ लाख नगद पुरस्कार प्राप्त गरे। लिगमा सुनीलले ६ गोल गरे। उनी लिगको सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहे।
नवप्रवेशी सातदोबाटो युथ क्लबले फेयर प्ले अवार्ड जितेको छ। सिजनमा चौथो स्थान हात पारेको उसले २ लाख रूपैयाँ हात पार्यो।
आर्मीका दिनेश हेन्जनलाई इमर्जिङ खेलाडीको अवार्ड दिइयो। उनले १ लाख ५० हजार रूपैयाँ प्राप्त गरे।
फ्रेन्ड्सका जमोउल फ्रान्कोइस र एनआरटीका मेसोउकै ओलोमोउले लिगमा ७-७ गोल गरे। यद्यपी जमोउलले थोरै समयमा गोल गरेकाले उनी लिगको सर्वाधिक गोलकर्ता बने। उनलाई २ लाख प्रदान गरियो।
मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए। उनले लिगमा जम्मा दुई गोल मात्र खाए भने कुनै खेल हारेनन्। उनलाई पनि २ लाख नै प्रदान गरियो।