म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रिमियर लिग क्लब सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो।
सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले गोल गरे।
वेस्टन होम्स स्टेडियम पिटर्सबर्गमा मंगलबार राति सम्पन्न खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि सिटीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरेको थियो।
सिटीका लागि खेलको ६०औं मिनेटमा रियाद महारेजको गोल गर्दै सुरूआती अग्रता दिलाए। त्यसपछि ६७ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि खेलमा गोल निस्कन नसक्दा सिटी २-० ले विजयी भयो।
यसैबीच ग्रेलिसले आफ्नो करियरको पहिलो एफए कप गोल लियोनल मेसीको फुटेज हेरेर प्रेरित भएको बताए।
‘रमाइलो कुरा के हो भने, प्रतियोगिता अगाडि कोचसँगै मैदान आउने क्रममा हामी छेउमा बसेर मेसीको भिडियोहरू स्क्रोल गर्दै थियौं,’ ग्रेलिसले खेल सकिएपछि भने।
‘गोल गरेपछि सहकर्मी फोडेन मसँग आए र भने- यो गोल अघि हामीले हेरिरहेको जस्तो थियो?,’ उनले सुनाए।