एथलेटिको बिल्वाओलाई हराउँदै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।
भ्यालेन्सियाले सेमिफाइनलको दोस्रो लेगमा साविक उपविजेता एथ्लेटिको बिल्वाओलाई १–० तथा समग्रमा २–१ गोल अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो।
घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई जिताउन गोन्कालो गुइडेसले निर्णायक गोल गरे। उनले खेलको ४३ औं मिनेटमा गोल गर्दै टोलीलाई जिताएका हुन्।
गोल गर्ने केही राम्रा अवसर खेर फाल्दा साविक उपविजेता यस पटक सेमिफाइनलबाटै बाहिरियो। अब भ्यालेन्सियाले उपाधिका लागि रायो भालेकानो र रियल बेटिसबीचको विजेतासँग खेल्नेछ।
यसअघि भ्यालेन्सियाले सन् २०१८–१९ को सिजनमा बार्सिलोनालाई हराउँदै उपाधि जितेको थियो।
भ्यालेन्सियाले यसअघि १७ पटक फाइनल खेल्दा ८ पटक च्याम्पियन बनेको थियो।