रायो भालेकानोलाई पन्छाउँदै रियल बेटिस स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रायो भालेकानोसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा ३–२ को जित निकाल्दै रियल बेटिस उपाधि नजिक पुगेको हो।
यसअघि बेटिसले पहिलो लेगमा २–१ को जित निकालेको थियो। त्यही जित नै रियल बेटिसलाई फाइनल पुर्याउन पर्याप्त रह्यो।
सेभियामा भएको दोस्रो लेगको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गरेका थिए।
खेलको ८०औं मिनेटमा वेवीले फ्रिकिकमार्फत सिधै गोल गर्दै रायो भालेकानोलाई सुरूवाती अग्रता दिलाए। तर, घरेलु टोली बेटिसले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बोर्जा इग्लेसियसले गोल गर्दै बेटिसलाई फाइनलसम्म पुर्याए।
यो सँगै रियल बेटिस १७ वर्षपछि पहिलोपटक फाइनलमा प्रवेश गरेको हो।
अब रियल बेटिसले उपाधिको लागि भ्यालेन्सियासँग खेल्नेछ। भ्यालेन्सियाले बुधबार राति साविक उपविजेता एथलेटिको बिल्वाओलाई हराउँदै फाइनल प्रवेश गरेको हो। फाइनल खेल आगामी अप्रिल २३मा हुनेछ।