पाँचौं झापा गोल्डकपको उद्घाटन खेलमा ‘ए’ डिभिजन जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा हराउँदै समान हैसियतको अर्को सातदोबाटो युथ क्लबले विजयी सुरूआत गरेको छ।
निर्धारित समयमा २-२ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि टाइब्रेकरमा गएको थियो।
सातदोबाटोले टाइब्रेकरमा ४-२ को जित हासिल गरेको हो। सातदोबाटोको जितमा गोलरक्षक अभिषेक बराल नायक बने। बरालले जावलाखेलको एउटा प्रहार बचाए।
टाइब्रेकरमा सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, मानबहादुर तामाङ र फ्लोनले गोल गरे।
जावलाखेलको लागि जुनियर र सुरजजियु ठकुरीले मात्र गोल गर्ने सके। राजेन्द्र रावलको प्रहार सातदोबाटोका किपर अभिषेक बरालले रोके। जावलाखेलको एक प्रहार पोष्ट बाहिर गएको थियो।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा सातदोबाटोले खेलको ३ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। खेलको तेस्रो मिनेटमै सातदोबाटोका अजय मार्टिसले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। मार्टिसले सुदिप गुरूङको पासमा गोल गरेका थिए।
तर, सातदोबाटोको अग्रता लामो टिकेन। ११ औं मिनेटमा जावलाखेल युथ क्लबले खेल बराबरी गर्न सफल भयो। उसका लागि जुनियरले गोल गर्न सफल भए। उनले दायाँ साइटबाट आएको बलमा गोल गर्दै टिमलाई बराबरीमा फर्काए।
खेलको ३३ औं मिनेटमा फेरि जुनियरले नै गोल गर्दै जावलाखेललाई अग्रता दिलाए।
खेलको ४७ औं मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल पुनः बराबरीमा ल्याएका थिए।
जावलाखेलका गोल रक्षक ईश्वर गुरूङ बिट भएको अवस्थामा राईले गोल गर्ने मौका पाएका थिए।
त्यसपछि पनि दुबै टिमले केही राम्रा मूभ बनाए पनि गोल भने गर्न सकेनन्। जसका कारण पहिलो खेल २ -२ गोलमा सकियो र टाइब्रेकरसम्म पुग्यो।
पाँचौं संस्करणको झापा गोल्डकपमा झापा-११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी छन्। भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किमले पनि पाँचौं संस्करणको झापा गोल्डकप खेल्नेछन्।
गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउनेछन्। पाँचौं संस्करणको झापा गोल्डकपमा प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन्।
भोलिको खेल नेपाल पुलिस र संकटाबीच हुने आयोजक समितिका हिमाल खरेलले बताए।