रियल म्याड्रिडले स्पेनिस ला लिगामा उत्कृष्ट जित निकाल्दै शीर्षस्थानमा ८ अंकको अग्रता लिएको छ।
गए राती भएको खेलमा रियलले १-० ले पछि स्थिति उल्ट्याउँदै रियल सोसिडाडमाथि ४–१ को उत्कृष्ट पूनरागमन जित निकालेको हो ।
घरेलु मैदानमा रियललाई जिताउन इडुआर्डो कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले १-१ गोल गरे। रियल सोसिडाडका मिकेल ओयरजावालले गरेको गोल सान्त्वना बन्यो।
खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत मिकेलले गोल गर्दै सोसिडाडलदाई सुरूआती अग्रता दिलाएका थिए। खेलको ४० औं मिनेटमा कामाभिंगाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसको ३ मिनेटपछि मोड्रिचले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै अग्रता दिलाए।
दोस्रो हाफमा थप आक्रमक देखिएको रियलका लागि खेलको ७६ औं मिनेटमा बेन्जेमाले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
खेलको ७९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ४-१ को फराकिलो जित दिलाए।
यो जितसँगै रियलले आफ्नो शीर्षता थप बलियो बनाउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। रियलले दोस्रो स्थानमा रहेको सेभियामाथि ८ अंकको स्पष्ट अग्रता लिएको छ।
२७ खेलबाट रियलको ६३ अंक पुगेको छ। समान खेलबाटै सेभियाको ५५ अंक छ। रियलसँग हार बेहोरेको रियल सोसिडाडको ४४ अंक जोडेर छैठौं स्थानमा रहेको छ। यस्तै तालिकाको चौथो स्थानमा रहेको बार्सिलोनाको ४५ अंक छ।