सन् २०१५ मा १७ वर्षको उमेरमा अनन्त तामाङले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका थिए।
भारतविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका अनन्तले त्यतिबेला नै प्रभाव छाडेका थिए। त्यो प्रभाव ७ वर्षपछि झनै बढेको छ।
नेपाली राष्ट्रिय टिमको सेन्टर ब्याक बन्दै विपक्षीका लागि खम्बा बनेर उभिने अनन्तले शनिबार इतिहास रचे।
भारतको शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आइएसएल) मा डेब्यू गर्दै अनन्त आइएसएल खेल्ने पहिलो खेलाडी बन्न सफल भए।
यो सिजनको नेपालको ए डिभिजन लिग थ्रीस्टारबाट खेलेका अनन्तलाई आइएसएल टिम इस्ट बंगालले पछिल्लो तीन खेलका लागि आबद्ध गरेको थियो। जसमा उनले अन्तिम खेलमा मात्र मौका पाए।
बेंगलुरूविरूद्धको खेलमा उनी पहिलो रोजाइमा मौका पाए। पूरा समय खेले पनि अनन्तको टिम १-० गोलले पराजित भयो। इस्ट बंगालविरुद्ध बेंगलुरूका सुनील क्षेत्रीले गोल गरेका थिए।
खेलमा अनन्तले केही उत्कृष्ट ट्याकल गरेका थिए। सुनील क्षेत्रीविरूद्ध वान भर्सेस वानको स्थितिमा उनले उत्कृष्ट ट्याकल गर्दै टिमको संकट टारेका थिए।
इस्ट बंगालले सिजनमा सबै खेल खेलिसकेको छ। यो सिजन खराब प्रदर्शन गरेको इस्ट बंगालले अंक तालिकाको पुछार ११औं स्थानमा सीमित बन्ने क्रममा २० खेलमा ११ अंक मात्र जोड्न सक्यो। इस्ट बंगालले एक खेलमा जित हात पार्दा ८ बराबरी र ११ हार बेहोर्यो।
एनएसएल खेल्ने पहिलो नेपाली खेलाडी बनेपछि गर्वको क्षण भएको अनन्तले प्रतिक्रिया दिएका छन्।
'प्रतिष्ठित क्लबको हिस्सा हुन पाउनु गर्वको क्षण हो। विगतमा नेपाली खेलाडीले इस्ट बंगालको जर्सीमा खेलेको सुनेको थिए। त्यो सूचीमा पर्नु भनेको सपना पूरा हुनु हो,' अनन्त फेसबुकमा लेखेका छन्।
'यस अद्भुत अवसरको लागि इस्ट बंगाललाई धन्यवाद। निरन्तर समर्थनको लागि सबैलाई धन्यवाद। थप दृढ संकल्पका साथ अगाडिका चुनौतीहरूको प्रतीक्षा गर्नेछु।'
यसअघि नेपालका खेलाडीले इस्ट बंगालबाट खेल्दा आइएसएल सुरु भएको थिएन।
झापामा जन्मिएका २४ वर्षीय अनन्त एन्फा एकेडेमीमा उत्पादन हुन्।
सन् २०१४ मा यू-१६ टिमबाटै अनन्तको चर्चा सुरु भएको थियो। त्यतिबेला अनन्तसँगै विमल घर्तिमगर सम्मिलित नेपाली यू-१६ टिम एएफसी यू-१६ मा छनोट भएको थियो।
एएफसी यू-१६ प्रतियोगितामा उत्तर कोरियाविरूद्ध अनन्तले गोल गरेका थिए।
यो प्रतियोगिताको समूह चरणको पहिलो खेलमा उज्वेकिस्तानसँग १-१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा कुवेतलाई २-१ ले पराजित गरेको थियो।
तेस्रो खेलमा उत्तर कोरियासँग ४-१ ले पराजित हुँदा नेपाल समूह चरणबाट बाहिरिएको थियो।
अर्को वर्ष अनन्तले यू-१९ साफ च्याम्पियनसिप खेलेको थियो। विमल घर्ति मगरको कप्तानीमा उनले प्रतियोगिताका सबै खेल खेलेका थिए। नेपालले त्यो प्रतियोगितामा भारतलाई हराउँदै उपाधि जितेको थियो।
सन् २०१५ देखि राष्ट्रिय टिममा निरन्तर खेलिरहेका अनन्तले नेपाली राष्ट्रिय टिमका लागि तीन अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। सन् २०१६ मा एएफसी सोलिडारिटी कपमा उनले लाओसविरूद्ध राष्ट्रिय टिममा डेब्यू गोल गरेका थिए।
सन् २०१८ को साफ च्याम्पियनसिपमा भुटानविरूद्ध र २०२१ मा ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा अनन्तले राष्ट्रिय टिमका लागि गोल गरेका थिए।
सन् २०१६ र २०१९ को साग गेम्समा नेपालले फुटबलतर्फ स्वर्ण जित्दा अनन्त नेपाली टिमका महत्वपूर्ण सदस्य थिए।
सन् २०१६ मा बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जितेर इतिहास बनाउँदा पनि उनी नेपाली टिमका मुख्य डिफेन्डरको रूपमा थिए।
५ फिट १० इन्च अग्ला अनन्तले सन् २०१८ देखि थ्रीस्टार क्लबबाट घरेलु फुटबल खेलिरहेका छन्।
कुनै बेला नेपालका भरपर्दा डिफेन्डरको परिचय बनाएका रोहित चन्द अहिले पोजिसनमा सिफ्ट भइरहने गर्छन्। किनभने नेपालका भरपर्दा डिफेन्डरको उक्त स्थान अहिले अनन्तले लिएका छन्।
अग्लो कद र बलियो ज्यान भएका कारण अनन्त विपक्षी खेलाडीका लागि भारी बन्ने गर्छन्। अझ सेटपिस पाएको बेला विपक्षीको पोस्ट गएर गोल गर्न सक्ने उनको खुबी हो।
ढिलै भए पनि उनले आइएलएलमा खेलेर इतिहास रचेका छन्। जसले अन्य नेपाली खेलाडीका लागि पनि अवसरको ढोका खुल्न सक्छ।