इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। आइतबार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरमा हराउँदै उपाधि यात्रामा अगाडि बढेको हो।
सिटीलाई जिताउन केभिन डे ब्रुएन र रियाद महरेजले २-२ गोल गरे। युनाईटेडका जाडोन सान्चोले सान्तवाना गोल फर्काए।
घरेलु मैदानमा पाँचौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। तर, खेलको २२ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए।
ब्रुएनले खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पुन अग्रता लियो। पहिलो हाफमा २-१ ले अघि रहेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्यो।
खेलको ६८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४-१ को फराकिलो जित निकाल्यो।
जितसँगै सिटीले २८ खेलमा ६९ अंक जोडेको छ। सिटी दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकले अघि रहेको छ। युनाईटेड ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
दोस्रो स्थानमा रहेको लिभरपुल एक खेल कम खेल्दै ६३ अंक जोडेको छ। २ खेल कम खेलेको चेल्सीको ५३ अंक छ। चौथो स्थानमा रहेको आर्सनलको २५ खेलबाट ४८ अंक जोडेको छ।