लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ।
घरेलु टोली वाट्फोर्डलाई ३–२ ले हराउँदै आर्सनल अंक तालिकाको शीर्ष चारमा उक्लिएको हो।
आर्सनललाई जिताउन मार्टिन ओडेगार्ड, बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे।
घरेलु टोलीका जुआन हर्नान्डेज र मोउसा सिसाकोले गोल फर्काएका थिए।
भिकारेज रोड वाट्फोर्डमा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डको गोलबाट आर्सनले सुरूवाती अग्रता लिएको थियो।
खेलको ११औं मिनेटमा जुआन हर्नान्डेजले ओभर हेड किकमा सुन्दर गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
३०औं मिनेटमा बुकायो साकाले एलेसान्द्रे लाकाजेटको पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
५२ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ३–१ ले अघि बढ्यो।
त्यसपछि खेलको ८७ औं मिनेटमा मौउसा सिसाकोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए पनि हारबाट जोगाउन सकेनन्।
यो जितसँगै चौथो स्थानमा उक्लिएको आर्सनलको २५ खेलबाट ४८ अंक पुगेको छ। गए राती नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँग ४-१ गोल अन्तरले पराजित हुँदै पाँचौ स्थानमा झरेको छ।
आर्सनलसँग पराजित वाट्फोर्ड २७ खेलबाट १९ अंक जोडेर १९ औं स्थानमा रहेको छ।