इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले शानदार जित निकालेको छ।
लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनमाथि ५–० को फराकिलो अन्तरको जित निकाल्यो।
टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सेन हेङ–मिन र रिगुइलोनले एक–एक गोल गरे।
टोटनह्यामले सुरुवाति अग्रता भने उपहार गोलबाट लिएको थियो।
एभर्टनका डिफेन्डर माइकल केनले खेलको १४ औं मिनेटमा आत्मघाती गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए।
त्यसपछि खेलको १७ औं मिनेटमा सेन हेङ–मिनले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ३७ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा ३-० को अग्रतामा पुर्याए।
दोस्रो हाफमा थप दुई गोल गरेको घरेलु टोलीका लागि खेलको ४६ औं मिनेटमा रिगुइलोनले गोल गर्दै अग्रता ४-० मा पुर्याए।
त्यसपछि खेलको ५५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ५-० मा पुर्याए।
त्यसपछि खेलमा गोल भएन र खेल टोटनह्यमले ५-० ले जित्यो।
यो जितपछि २६ खेलबाट ४५ अंकसहित टोटनह्याम सातौं स्थानमा कायम छ । रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको एभर्टन २५ खेलबाट २२ अंकसहित १७ स्थानमा छ।
लिगमा ६९ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा कायमै रहँदा लिभरपुल ६३ अंकसहित पछ्याइरहेको छ।