रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा जर्मन क्लब बायर्न म्युनिखले सानदार जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बायर्नले प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा गएराति अष्ट्रियन क्लब साल्जवर्गमाथि ७–१ को सानदार जित निकालेको हो।
पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको बायर्नले दोस्रो लेगमा एकपक्षीय जित निकाल्दै समग्रमा ८–२ को जितसहित च्याम्पियन्स लिगका अन्तिम आठमा पुगेको हो।
घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नलाई जिताउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लिरोए सानेले समान एक-एक गोल गरे। साल्जवर्गका मौरिट्स काएरगार्डले एक गोल फर्काएका थिए।
एकपक्षीय बनेको खेलको १२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई सुरूआती अग्रता दिलाए।
खेलको २१औं मिनेटमा लेवान्डोस्कीले पुनः पेनाल्टीमै गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।
त्यसको दुई मिनेटपछि लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे।
ब्रायन यतिमै रोकिएन, खेलको ३१औं मिनेटमा सर्ज जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमै ४–० ले अघि रह्यो।
पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल थप्दै फराकिलो जित आत्मसात गर्यो।
खेलको ५४औं मिनेटमा थोमस मुलरले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई ५–० ले अघि बढाए। ७०औं मिनेटमा मौरिट्स काएरगार्डले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए।
८३औं मिनेटमा थोमस मुलरले व्यक्तिगत दोस्रो र टोलीका लाटि छैठौं गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए।
८६औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई ७–१ को एकपक्षीय सानदार जित दिलाए।