सन् २०१८ मा रूसले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै सबैको ध्यान खिचेको थियो।
रूसको फुटबल टिमले सोभियत संघको विघटनपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेर इतिहास बनाएको थियो। आयोजकको रूपमा रूसले प्रशंसा समेत बटुलेको थियो।
तर रूसले युक्रेनमाथि पाँच दिनअघि आक्रमण गरेपछि अहिले विश्व खेलकुद रूसको विपक्षमा उभिएको छ। अहिले युरोपियन क्लबले रूसी कम्पनीहरूसँगको सम्बन्धलाई तोडिरहेका छन्।
विश्वभरका खेलाडीहरू र फ्यानहरूले युक्रेनलाई समर्थनको सन्देश पठाइरहेका छन्।
युद्व जारी रहदासम्म रूसले खेलकुदका अल्पकालीन र दीर्घकालीन प्रतिबन्ध झेल्नु पर्नेछ।
यसैबीच इङ्लिस प्रिमियर लिगको प्रसारण रूसमा नहुने भएको छ।
इंग्लिस प्रिमियर लिगले रूसी ब्रोडकास्टर ओको स्पोर्ट्ससँग सम्झौता तोडेको छ। यो सँगै रूसी समर्थकले इपिएलको खेल हेर्न नपाउने भएका हुन्।
प्रिमियर लिगले क्लबसँगको सहमतिमै यस्तो निर्णय लिएको बताएको छ। यसैबीच इपिएलले युक्रेनी नागरिकको समर्थन गर्दै १ मिलियन पाण्ड सहयोग गर्ने घोषणासमेत गरेको छ।
इपिएलले युक्रेनमाथि रूसको आक्रमणको कडा निन्दा गर्दै शान्तिका लागि रूससँग आव्हानसमेत गरेको छ।
यसैबीच ब्रिटिस खेलमन्त्री निगेल हडलस्टनले प्रिमियर लिगको फैसलामा सरकारले समर्थन गरेको बताएका छन्।
‘यो बिल्कुल सही फैसला हो। पुटिनको युक्रेनमाथिको बर्बर, संवेदनहीन आक्रमणको जवाफ स्वरूप रूसमा खेलको प्रसारण रोक्ने प्रिमियर लिगको निर्णयलाई हामी समर्थन गर्छौ’, मन्त्री हडलस्टनले भनेका छन्।
ओको स्पोर्ट एक सब्सक्रिप्शन बेस्ड सर्विस हो जसले रूसमा प्रिमियर लिगका खेल देखाउनका लागि प्रति वर्ष करिब ६.२ मिलियन पाउण्ड खर्च गर्दै आएको छ।
युक्रेनमाथि रूसले आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफा र युरोपियन फुटबल महासंमाथि रूसलाई प्रतिबन्ध लगाएको छ।