त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भारत दार्जीलिङको एम एफसीलाई ३–० गोल अन्तरले हराउँदै आर्मीले अन्तिम चारमा प्रवेश गरेको हो।
आर्मीको जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले एक-एक गोल गरे।
बिर्तामोडस्थित डोमालाल रंगशालामा खेलको १० औँ मिनेटमा सन्तोष तामाङको गोल गर्दै खेल आर्मीलाई सुरूआती अग्रता दिलाए। खेलको ३५ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता दोब्बर पारे।
पहिलो हाफमा २-० ले अघि रहेको आर्मीले दोस्रो हाफमा थप १ गोल गर्यो। खेलको ६८ औँ मिनेटमा विकास तामाङले गोल गर्दै जित सुनिश्चित गरे।
खेल अवधिमा दुवै टोलीले उल्लेख्य मुभ बनाउन सकेनन्। खेलको सुरुवाती १९ औँ मिनेटमा एम एफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। ५२ औँ मिनेटमा एम एफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो।
६५ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरियो। ७८ औँ मिनेटमा एम एफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन्। ८६ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहर विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए।
बुधबारको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ भए। उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए।
बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ। सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन्। उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।