त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी पाँचौं संस्करणको झापा गोल्ड कपको फाइनलमा पुगेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।
आर्मीलाई जिताउन टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल र सन्तोष तामाङले १-१ गोल गरे।
सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए।
बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा खेलको २७ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीले सुरूआती अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुशील राईले दिएको पासमा दीपकले गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याएका थिए।
पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्दै जित निश्चित गर्यो।
दोस्रो हाफमा आक्रमणलाई तेज बनाएको आर्मीका लागि ५९ औं मिनेटमा सन्तोषले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसपछि खेलको ८० औं मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३-१ को स्थितिमा पुर्याए। त्यसको तीन मिनेटपछि टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले सहज जित निकाल्यो।
प्रतियोगितामा आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच हुँदै ९ हजार ९ सय ९९ सय रुपैयाँ प्राप्त गरे ।
आर्मीले सोमबार हुने फाइनलमा झापा ११ र संकटा क्लबबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ।
दोस्रो सेमिफाइनल भोलि हुनेछ।
गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रूपैयाँ प्राप्त गर्नेछ।