बार्सिलोनालाई पछि पार्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।
गएराती १० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिकोले क्याडिजलाई २–१ गोल अन्तरमा हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।
वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जोआओ फेलिक्स र रोड्रिगो डि पउलले गोल गरे। क्याडिजका अल्भारो नेग्रेडोले एक गोल फर्काए पनि हार टार्न सकेनन्।
खेलको तेस्रो मिनेटमा नै जोआओ फेलिक्सले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्ज्युरी समयमा नेग्रेडोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ६८औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै एट्लेटिकोलाई पुनः अग्रता दिलाए। खेलमा अन्तिम २ मिनेट बाँकी हुँदा घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो ।
जेभिएर सेरानोले एलेक्स फर्नान्डेजलाई फउल गरेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
१० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि त्यसपछि क्याडिजले दबाब बढाए पनि गोल गर्न नसक्दा एट्लेटिकोले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यो जितसँगै तेस्रो स्थानमा उक्लिएको एट्लेटिको म्याड्रिडको २८ खेलबाट ५१ अंक पुगेको छ। एट्लेटिकोले दुई खेल कम खेलेको बार्सिलोनालाई ३ अंकले पछि पारेको हो।
दोस्रो स्थानमा रहेको सेभिया एथ्लेटिको भन्दा ४ अंकले अघि छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ६३ अंक छ। यता एथ्लेटिकोसँग पराजित क्याडिज २४ अंक जोडेर १८औं स्थानमा छ।