बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको मैदानमा सहजै हराएको छ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४-० को फराकिलो अन्तरले हराएको हो।
सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरे।
पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप २ गोल गर्दै सानदार जित निकालेको हो।
बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरूवाती अग्रता लिएको थियो। ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए।
खेलको ३७ औं मिनेटमा अराउजोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा अग्रता दोब्बर बनाए।
दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले गोल गर्दै घरेलु टोलीलाई थप दबाबमा राखे।
खेलको ५१ औं मिनेटमा औबामेयाङले गोल गर्दै बार्सिलोनाको अग्रता ४-० मा पुर्याए। त्यसपछि खेलमा थप गोल हुन सकेन।
यो जितसँगै बार्सिलोनाले रियलसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा छ।
शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ। दोस्रो स्थानमा सेभिल्लाको २९ खेलमा ५७ अंक छ। चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको २९ खेलबाट समान ५४ अंक छ।