इंग्लिस फुटबल टिमका पूर्वकप्तान डेभिड बेकह्यामले पूर्वी युक्रेनी सहर खार्किभमा महिलालाई बच्चा जन्माउन मद्दत गर्ने डाक्टरलाई आफ्नो इन्स्टाग्राम खाता हस्तान्तरण गरेका छन्।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व मिडफिल्डर तथा हाल अमेरिकी मेजर लिग सकर टिम इन्टर मियामीका सहमालिक बेकह्यामले ७१.६ मिलियन फलोअर्सलाई बाल एनेस्थेसियलोजिस्ट डाक्टर इरिनाको काम हेर्न भनेका छन्। साथै इरिनाको टिमले द्वन्द्वमा गरेको कामको बारेमा पछ्याउन पनि उनले भनेका छन्।
संयुक्त राष्ट्र संघ बाल एजेन्सी युनिसेफका लागि सद्भावना दूत समेत रहेका बेकह्यामले एक भिडियो सन्देश पोस्ट गर्दै आफ्ना प्रशंसकलाई युक्रेनमा विभिन्न संस्थाले गरेका कामलाई समर्थन गर्न आह्वान गरेका छन्।
गत महिना रूसले युक्रेनमा आक्रमण गर्दै खार्किभ शहरमा धेरै भवनहरू ध्वस्त पारेको छ।
खार्किभमा कार्यरत इरिनाले यसअघि एक भिडियो पोस्ट गर्दै रुसको आक्रमणको पहिलो दिन गर्भवती महिला र आमाहरूलाई बाहिर निकालिएको बताएकी थिइन्। उनले युनिसेफद्वारा सहयोग गरिएका अक्सिजन जेनेरेटरमा निर्भर नवजात शिशुका तस्बिरहरू पनि पोस्ट गरेकी थिइन्।
‘सुरूवाती दिनहरू सबैभन्दा कठिन थिए। हामीले बम विष्फोटको बेला कसरी काम गर्ने भनेर सिक्नुपर्यो,’ उनको भनाइ छ, ‘हामीले सायद आफ्नो ज्यान जोखिममा राखेका छौं, तर हामी यसको बारेमा सोच्दैनौं। हामी हाम्रो कामलाई माया गर्छौं।’
इरिनाको एउटा भिडियोमा याना नामक महिलाले आफ्नो बालक छोरा मिखाइलोलाई बोकिरहेकी थिइन्, जसलाई युद्धको दोस्रो दिनमा सास फेर्न समस्या भएको थियो। इरिनाले मिखाइलो अहिले राम्रो भएको तर उनको घर ध्वस्त भएको बताइन्।
‘यहाँ डाक्टर र नर्सहरू चिन्तित छौं, हामी रुन्छौं, तर हामी मध्ये कसैले पनि हार मान्दैनौं,’ इरिनाले भनिन्।