इंग्लिस क्लब चेल्सीले खेलको टिकट बिक्री गर्न अनुमति पाएको छ।
बेलायत सरकारले विशेष लाइसेन्स परिवर्तन गरेपछि चेल्सीलाई अवे खेल, कप खेल र महिला टोलीको खेलहरुको टिकट बिक्री गर्न अनुमति पाएको हो।
रूसले युक्रेनमाथि गरेको आक्रमणको प्रतिक्रियास्वरूप बेलायत सरकारले क्लवका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई प्रतिबन्ध लगाएपछि चेल्सीले आफ्ना खेलको टिकट बिक्री गर्न पाएको थिएन।
नयाँ लाइसेन्स अनुसार टिकट बिक्रीबाट प्राप्त रकम सिधै प्रिमियर लिगलाई जानेछ। त्यसपछि सम्बन्धित पार्टीलाई प्रदान गरिने भएको छ।
अब्रामोभिचले क्लब बेच्ने घोषणापछि क्लबको स्वामित्वका लागि पर्याप्त चासो देखिए पनि बेलायत सरकारले प्रतिबन्ध लगाएसँगै चेल्सीको भविष्य अनिश्चित देखिदै आएको छ।
रूसी राष्ट्रपती भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध भएका कारण बेलायत सरकारले अब्रामोभिचको सम्पतीमाथि रोक्का लगाएको जनाउँदै आएको छ। रूसले युक्रेनमाथि सैन्य कारवाही अघि बढाएपछि विश्वभरका खेलकुद निकायले रुसलाई खेल क्षेत्रबाट अलग्याउने रणनीति अवलम्बन गर्दै आएका छन्।
बेलायत सरकारले विशेष व्यवस्था मिलाएसँगै चेल्सीले निश्चित खेलको टिकट भने बेच्नेछ।
‘म चेल्सीका समर्थकले देखाएको धैर्यताको कदर गर्छु’, बेलायतका खेलकुदमन्त्री निगेल हडलस्टोनले भने, ‘रोमन अब्रामोभिचमाथिको प्रतिबन्ध कायम छ । हामीले क्लब खेलमा निरन्तर लागिरहोस भनेर यो व्यवस्था मिलाएका हौ।’
अब चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत अप्रिल ६ मा हुने रियल म्याड्रिड र एफए कपको सेमिफाइनल अन्तर्गत अप्रिल १६ मा हुने क्रिस्टल प्यालेसविरूद्ध वेम्बेली रंगशालामा हुने खेलको टिकट बिक्री गर्न पाउनेछ।
यस्तै पाहुना टोलीका समर्थकहरुले स्ट्यामफोर्ड ब्रिजमा हुने खेलको टिकट किन्न सक्ने छन् ।
यस्तै चेल्सीले अप्रिल ३ मा किंग्समेडोमा रिडिङसँग हुने महिला सुपर लिगको खेलको टिकट समेत बिक्री गर्न पाउनेछ।
प्रिमियर लिगले चेल्सीको टिकट बिक्रीबाट उठेको कुनै पनि पैसा युक्रेन युद्व पीडितलाई दान दिन अनुरोध गरेको छ।