दोस्रो राष्ट्रिय महिला लिगको पहिलो खेलमा सशस्त्र प्रहरी बल(एपिएफ) एफसी विजयी भएको छ।
चितवनको सारदानगरमा बिहीबारबाट सुरू भएको महिला लिगको पहिलो खेलमा साबिक बिजेता एपिएफले त्रिभुवन आर्मीलाई २-१ ले पराजित गर्यो।
एपिएफको जितमा कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरे। आर्मीको तर्फबाट रश्मी गुरुङले एक गोल गरिन्। पहिलो हाफ फितलो भएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो।
५२ औं मिनेटमा एपिएफकी डिफेन्डर मनमाया लिम्बुले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए। प्राप्त अवसरको सदुपयोग गर्दै रश्मीले बललाई जाली चुमाइन्।
तर, आर्मीको अग्रता पाँच मिनेट पनि टिकेन। ५७ औं मिनेटमा एपिएफकी कप्तान रेनुकाले बराबरी गोल फर्काइन्। रेनुकाले डिबक्स बाहिरबाट गरेको प्रहार बचाउने आर्मीकी गोलरक्षक अन्जना राना मगरको प्रयास असफल भयो।
५९ औं मिनेटमा एपिएफकी स्टार फर्वाड सावित्रा भण्डारी (साम्बा) मैदान प्रवेश गरिन्।
१३ महिनापछि खेलमा फर्किएकी साम्बाले आर्मीका डिफेन्डरलाई व्यस्त बनाइन्। ८१ औं मिनेटमा एपिएफले अग्रता लियो।
फर्वाड अनिता बस्नेतले फ्रि किकमा गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। यो गोलको विषयमा केही समय विवाद भयो।
अनिताको फ्रि किक गोलकिपर अन्जनाले रोके पनि रेफ्रीले गोल दिएको भन्दै आर्मीले मैदान छोडेपछि केहीबेर खेल रोकिएको थियो।
एन्फासँगको छलफलपछि आर्मी खेल्न सहमत भयो। बाँकी समयमा थप गोल हुन सकेन र एपिएफ २-१ ले विजयी भयो। खेलको प्लेयर अफ दि म्याच एपिएफकी कप्तान रेनुका भइन्।
लिगमा (शुक्रवार) तीन खेल हुनेछ। पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ। यस्तै, दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।
यस पटक लिगको पहिलो चरणका खेलहरू चितवनको भरतपुरमा आयोजना गरिएको हो। डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरू भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ। पहिलो चरणका खेलहरू चैत ३० गतेसम्म हुनेछ। दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ।
लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ। तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ।
यस्तै, फेयर प्ले टिमले एक लाख पाउनेछ। लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राइकरले समान ५०-५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन्। हरेक खेलको प्लयर अफ दी म्याचले दस हजार रुपैयाँ प्राप्त गर्नेछन्।
विगतकै लयमा फर्कने प्रयास गर्दैछु: साम्बा
चोटका कारण १३ महिना आराम गरेकी एपिएफकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले पहिलेकै लयमा फर्कन प्रयास गरिरहेको बताइन्।
सेतोपाटीसँग कुरा गर्दै उनले विगतकै जस्तो खेल्ने लक्ष्य राखेर मैदानमा फर्किएको बताइन्।
‘अहिले नै पहिले जसरी खेल्न त नसकुँला तर खेल्ने अवधि बढाउँदै विगतकै लयमा फर्कन सक्छु भन्ने आत्मविश्वासका साथ मैदानमा आएकी छु,’ उनले भनिन्, ‘निकै लामो अन्तरालपछि खेलमा फर्कंदा उत्साहित छु।’
उनले चोटका कारण धेरै खेलहरू गुमाउनु पर्दा असाध्यै दुःख लागेको बताइन्। ‘मैले वर्ल्डकप क्वालिफायर राउण्ड, बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न सकिनँ। त्यतिखेर म असाध्यै दुःखी भएँ,’ उनले भनिन्, ‘खेलाडीका लागि त्यो भन्दा दुःखको कुरो अरु हुनै सक्दैन।’
सावित्रालाई गत फागुनमा राष्ट्रिय महिला लिग खेल्ने क्रममा घुँडामा चोट लागेको थियो। त्यसयता उनी मैदान बाहिर थिइन्। उनको घुँडाको शल्यक्रिया भएको थियो।