मेसी, नेइमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ।
लिग अन्तर्गत गए राती पिएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५–१ को फराकिलो अन्तरमा हराएको हो।
पिएसजीको जितमा नेयमार र एम्बाप्पेले दुई-दुई तथा मेसीले एक गोल गरे। लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।
खेलको १२औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। उनले एम्बाप्पेको पासमा गोल गरेका थिए। २८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। उनले इड्रिसा गाना गुआईको पासमा गोल गरे।
पहिलो हाफसम्म २-० ले अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।
खेलको ५६ औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए।
तर खेलको ६७औं मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीको अग्रता ३-१ मा पुग्यो। उनले हाकिमीको पासमा गोल गरेका थिए।
खेलको ७३औं मिनेटमा एम्बाप्पेले पास दिएपछि मेसीले गोल गर्दै पिएजीको अग्रता बढाए।
खेलको अन्तिम समयमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे।
यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले ३० खेलबाट ६८ अंक जोड्दै १२ अंकको स्पष्ट अग्रता लिएको छ। दोस्रो स्थानको मार्सेलीको ५६ अंक छ। पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ।