नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
मंगलबार दशरथ रंगशालामा भएको प्रारम्भिक चरणको खेलमा श्रीलंकाको ब्लुस्टारसँग २-१ गोलले पराजित भएसँगै मछिन्द्र बाहिरिएको हो।
सिजनबाट एएफसी कपमा डेब्यू गरेको मछिन्द्रले पहिलो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल खाएको थियो। जसका कारण मछिन्द्रलाई खेलमा फर्कन कठिन भयो।
खेलको १५ मिनेटमा ब्लुस्टारले पेनाल्टी पायो। मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङले ब्लुस्टारका शेनल सन्देशलाई डिबक्सभित्र लडाएपछि इराकी रेफ्री योउसिफ सइद हसनले पेनाल्टी दिने निर्णय गरेका थिए।
प्राप्त पेनाल्टीमा एरेपडे ओमबेबेको प्रहार सफल हुन सकेन। उनको पेनाल्टीलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले डाइभ हानेर पञ्च गरे।
त्यसअघि मछिन्द्रका फरवार्ड नुर्लान नोभरुजोभको प्रहारले गोलपोस्टको दिशा लिन सकेन। उनले डिबक्स भित्र पाएको सुन्दर अवसरमा सेकेन्ड बार च्याप्दै हानेको प्रहार आउट भएको थियो।
२४ मिनेटमा ब्लुस्टारले अग्रता लियो। उसका लागि मोहमेद इहसनले गोल गर्न सफल भए। मोहमेदले मोहमद फसलको फ्रिकिकमा गोल गरेका थिए।
खेलको २७ मिनेटमा ब्लुस्टारले अग्रता दोब्बर पार्यो। सन्देशले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।
दोस्रो हाफमा मछिन्द्र पाएका अवसरमा गोल गर्न सकेन। ६८ मिनेटमा अभिषेक रिजालको प्रहार पोलमा लागेको थियो। लगत्तै छिरिङ गुरूङको प्रहारलाई विपक्षी खेलाडीले टचलाइनबाट फर्काएका थिए।
७७ मिनेटमा कप्तान सुजल श्रेष्ठले सिक्स यार्ड बक्समा प्राप्त पासमा फितलो हेडिङ गरेका थिए। रन्जित धिमालको क्रसमा सुजलले अवसर खेर फालेका थिए।
इन्जुरी टाइमको अन्तिम मिनेटमा सुजलले मनिष डाँगीको पासमा गोल गरे पनि सो गोल सान्त्वनामै सीमित बन्यो।
अब ब्लुस्टारले दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ।