युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि सामान्य अग्रता बनाएको छ।
लिग अन्तर्गत म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा केविन डि ब्रुएनाले गरेको एकमात्र गोल पहिलो लेगमा सिटीलाई १-० ले अघि रहन पर्याप्त बन्यो।
इतिहाद स्टेडियममा भएको च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा सिटीले एट्लेटिको म्याड्रिडमाथि दबाब बढाए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
एट्लेटिकोको बलियो डिफेन्स तोड्न सिटीलाई ७० मिनेटसम्म कुर्नुपरेको थियो।
डि ब्रुएनाले खेलमा २० मिनेट समय बाँकी रहँदा गोल गर्दै महत्वपूर्ण अग्रता दिलाएका थिए।
अब यी दुईबीचको दोस्रो लेग आगामी अप्रिल १४ हुनेछ।