नेयमार जुनियर र केलियन एम्बाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा क्लेरमोन्ट फुटमाथि सानदार जित निकालेको छ ।
घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित निकाल्ने क्रममा नेयमार एम्बाप्पेले ह्याट्रिक गरे। घरेलु टोलीका लागि जोडेल डोस्सोउले एक गोल फर्काए।
खेलको छैठौं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीले सुरूआती अग्रता दिलाए। उनले लियोनेल मेसीको पासमा गोल गरेका थिए।
यस्तै १९औं मिनेटमा एम्बाप्पेले पनि मेसीकै पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। ४२औं मिनेटमा घरेलु टोलीका जोडेलले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ स्थितिमा ल्याए।
पहिलो हाफमा २ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप ४ गोल गर्यो।
खेलको ७१औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ३–१ ले अघि बढाए। त्यसको दुई मिनेटपछि नेयमारको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ४-१ को स्थितिमा पुर्याए।
८०औं मिनेटमा एम्बाप्पेले मेसीको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे। मेसीले पनि यो सँगै ह्याट्रिक असिस्ट गरे। त्यसपछि खेलको ८३ औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले ह्याट्रिक पुरा गरेपछि पिएसजीले फराकिलो जित निकाल्न सफल भयो ।
यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ। पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ। रेन्नेस र मार्सेको समान ५६ अंक छ। पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर तालिकाको १७ औं स्थानमा छ।