उपाधिका दुई दाबेदार शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ।
यो सिजनको इंग्लिस प्रिमियर लिगको फाइनल सरह मानिएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।
घरेलु मैदानमा सिटीले दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो। सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्दा लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे ।
इतिहाद स्टेडियममा आइतबार खेलको पाँचौ मिनेटमा घरेलु टोलीले अग्रता लियो। बर्नाडो सिल्भाको पासमा कप्तान केभिन डि ब्रुयनले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। तर, सिटीको अग्रता लामो समय टिकेन।
त्यसको ८ मिनेटपछि ट्रेन्ट एलेक्सान्डर आर्नोल्डको पासमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
३६ औं मिनेटमा गाब्रियल जेससले गोल गरेर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।
खेलमा ४५ प्रतिशत बल पोजिसन राखेको लिभरपुलका लागि दोस्रो हाफको शुरूमै ४६ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए। मोहम्मद सलाहको पासमा उनले सिटी सम्हालिन नपाउँदै गोल गरेका थिए।
त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा बराबरीमा सकियो ।
यो बराबरीसँगै दुवै टोलीको उपाधि जित्ने सम्भावना कायमै रहेको छ। शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ तथा समान खेलबाटै लिभरपुलको ७३ अंक छ। तेस्रो स्थानमा रहेको चेल्सीको ६२ अंक छ। चौथो स्थानको टोटनह्याको ५७ अंक छ।