लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेले पनि समग्रमा ६-४ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
लिभरपुलले पहिलो लेगमा ३-१ को जित निकालेको थियो। यो सँगै समग्रमा ६-४ को जित निकालेको हो।
दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गर्दा इब्राहिमा कोनाटेले तेस्रो गोल गरे। यस्तै बेन्फिकाका लागि गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे।
खेलको २१ औं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाए ।
३२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई पहिलो हाफमा १-१ को बराबरीमा ल्याए ।
खेलको ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए।
६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याए।
तर खेलको ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दा बेन्फिका खेलमा फर्काउने कोशिस गरे।
त्यसपछि खेलको ८१ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै खेललाई पुनः ३-३ गोलको बराबरीमा ल्याए।
त्यसपछि पाएका केही राम्रा मौकामा गोल नहुँदा दुबै टोली गोल गर्न बञ्चित रहे। यद्यपी यो बराबरी नै लिभरपुलका लागि अन्तिम चारमा पुग्न पर्याप्त रह्यो।
अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ।