नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली समर्थकमाझ लोकप्रिय छन्। विशेषगरी उनको सामाजिक सञ्जालमा निकै प्रशंसा हुने गरेको छ।
उनी सार्वजनिक कार्यक्रम होस् वा सामाजिक सञ्जालमा खेलाडीको पक्षमा बोल्छन्।
खेल हारेमा त्यसको दोष आफ्नो हुने उनको भनाइ हुने गर्छ। तर, जितेमा भने त्यसको श्रेय खेलाडीलाई जाने उनले बताउँदै आएका छन्।
एक वर्षअघि राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका अलमुताइरी विवादरहित भने हुन सकेका छैनन्।
पछिल्लोपटक अलमुताइरी र राष्ट्रिय टिमका खेलाडीबीच मतभेद बढेको छ। राष्ट्रिय टिमका कतिपय खेलाडीले अमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाएका छन् र राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका छन्। व्यवसायिक खेलका लागि माल्दिभ्समा रहेका कप्तान किरणकुमार लिम्बूले प्रशिक्षकको व्यवहारमा सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आफू खेलाडीको पक्षमा रहेको बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) खेलाडीले बन्द प्रशिक्षण छाड्दासम्म मुकदर्शक बनेको छ।
मंगलबार राति सिनियर खेलाडी रोहित चन्दसहित १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि मात्र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीसँग छलफल गरेका थिए। तर प्रशिक्षक र खेलाडीबीचको विवाद अझै साम्य हुने देखिएको छैन। किनभने खेलाडीले प्रशिक्षकलाई बर्खास्त गर्नु पर्ने कठोर माग राखेका छन्।
खेलाडी र प्रशिक्षकबीचको विवादलाई लिएर आज अपरान्ह एन्फा कम्प्लेक्समा बैठक बस्दैछ। एन्फाले बैठकमा केही पदाधिकारीलाई समेत बोलाएको छ।
कसरी सुरू भयो विवाद?
नेपालले आगामी जेठमा एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोट खेल्दैछ। त्यसका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेर गत वैशाख २ देखि अभ्यास सुरू गरेका थिए।
अभ्यास सुरू गरेकै दिन उनले नेपाल एसियन कपमा छनोट हुन नसक्ने प्रतिक्रिया दिएका थिए। भोलिपल्ट खेलाडीहरूलाई उनले मिडियासँग बोल्न अनुमति दिए। चार-चार जनाको समूह बनाएर खेलाडीलाई मिडियासामू उपस्थित गराए। सो पत्रकार सम्मेलनमा पत्रकारले अघिल्लो दिन प्रशिक्षकले दिएको प्रतिक्रियालाई स्पष्ट पार्न आग्रह गरे।
रोहित चन्दसहितका खेलाडीले प्रशिक्षकको भनाइविपरीत नेपालले छनोट हुनका लागि अन्तिमसम्म लड्ने प्रतिक्रिया दिए।
सुरूमा एन्फाले मोफसलका खेलाडीलाई होटलमा राखेको थियो। एन्फा होस्टल नराम्रो भएका कारण मोफसलका खेलाडीहरू ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका थिए।
उपत्यकाका खेलाडी घरबाटै बन्द प्रशिक्षणमा आइरहेका थिए। उपत्यकाका खेलाडीलाई घरबाट प्रशिक्षणमा आउन अनुमति दिएको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले वैशाख २ गतेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
गत सोमबारदेखि भने सबै खेलाडीलाई एन्फा कम्प्लेक्सको सातदोबाटोस्थित होस्टलमा राख्ने भनिएको थियो।
यो विषयमा भने खेलाडी असन्तुष्ट थिए। एन्फा होस्टलमा न्यूनतम सुविधासमेत नभएको भन्दै कतिपय खेलाडीले अभ्यासमा रहेकामध्ये सिनियर खेलाडी रोहित चन्दसँग गुनासो गरेका थिए।
होस्टलमा सुविधा थप भएको अवस्थामा मात्र खेलाडी बस्न तयार थिए। त्यसो नभए होटलमा बस्न पाउनु पर्नेमा खेलाडीहरू एकमत थिए।
होस्टलमा बस्नु पर्ने भनिएको अघिल्लो दिन अर्थात् आइतबारको अभ्यासपछि खेलाडीहरूले कि होस्टलमा सुविधा बढाउनु पर्ने त्यसो नभए होटलमा बस्न पाउनु पर्ने माग प्रशिक्षक अलमुताइरी समक्ष राखेका थिए।
खेलाडीहरूले सुविधाको विषयमा आवाज उठाएपछि प्रशिक्षक अलमुताइरी निकै रूष्ट बनेको राष्ट्रिय टिममा रहेका एक खेलाडीको भनाइ छ। मागपछि निकै झोक्किएका अलमुताइरीले को-को होटलमा बस्ने र को-को होस्टलमा बस्ने भन्दै हात उठाउन लगाएको ती खेलाडीको भनाइ छ।
तर अघिल्लो दिनसम्म रोहितसँग गुनासो गरेका खेलाडी प्रशिक्षकसामू खुल्न सकेनन्। रोहितले मात्र होटलमा बस्ने भनेर हात उठाए। अरू खेलाडी चुपचाप बसिरहे।
सुविधाको विषयमा प्रशिक्षकसँग निडर भएर बोल्नेमा रोहित एक्लो भए। त्यसपछि प्रशिक्षकले होटलमा बस्न पाउनु पर्ने माग राखेका रोहितलाई राष्ट्रिय टिमको क्याम्प छाडेर घर जान निर्देशन दिए।
रोहितले होटलमा बस्नु पर्ने माग राख्दा टिम छाड्नु परेको थियो। तर खेलाडीलाई भने होटलमै राखियो। सोमबार खेलाडीहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नजिकको एक होटलमा राखिएको थियो।
रोहित राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ‘निकालिएपछि’ खेलाडीहरू अझै असन्तुष्ट बनेका थिए। तर उनीहरूले सिधै प्रशिक्षकसँग गएर कुरा गर्ने हिम्मत गरेनन्। सुरूमा व्यवस्थापक मधुसुदन उपाध्यायसँग कुरा गरे। उनीबाट कुनै समाधान निस्केन। त्यसपछि अलमुताइरीसँग कुरा गर्न खोज्दा बेवास्ता गरेको ती खेलाडीको भनाइ छ।
रोहितले टिमको नेतृत्व गर्दै आवाज उठाएको खेलाडीहरूले बताए। त्यसपछि केही लचक देखिएका अलमुताइरीले खेलाडीसँग कुरा गर्न तयार भए। तर उनले खेलाडीको कुरा सुन्नुको साटो रोहितसँग लागेको भन्दै हप्काए। ‘तिमीहरू पनि रोहितझैं घर जान सक्छौ’ भन्दै धम्की दिए।
प्रशिक्षकले समस्या समाधान गर्न गएका खेलाडीहरूलाई उल्टै झपारेपछि मंगलबारको टिम मिटिङपछि ९ जनाले होटल छाडेका थिए। होटल छाड्नेमा विशाल श्रेष्ठ, विशाल राई, अनन्त तामाङ, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विमल घर्तिमगर, सुमन लामा, दिनेश राजवंशी र तेज तामाङ थिए।
होटल छाडेका सबैजना बुधबारको बन्द प्रशिक्षणमा आएनन्। बन्द प्रशिक्षणमा खेलाडीहरू अनुपस्थित भएपछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले छलफल गरेका थिए।
यस विषयमा अध्यक्ष शेर्पाले प्रतिक्रिया दिन चाहेका छैनन्। तर उनले खेलाडी र प्रशिक्षकबीच विवाद भएको कुरा नकारेनन्।
तयारीमा असर
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यो खेल कतारमा हुनेछ।
एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
प्रशिक्षक अलमुताइरी स्वयम्ले नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताइसकेका छन्। त्यसैले नेपालले लक्ष्य राम्रो फुटबल खेल्नु हुनेछ। तर त्यसअघि राष्ट्रिय टिममा विवाद हुँदा टिमको प्रदर्शनमा पनि असर गर्ने पक्का छ।
छनोटका लागि घोषणा गरिएको नेपाली टिम
किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ, विशाल राई