स्पेनिस ला लिगामा यो सिजनको च्याम्पियन रियल म्याड्रिड एट्लेटिको म्याड्रिडसँग हार बेहोरेको छ । रियल घरेलु टोली एट्लेटिकोसँग १–० ले पराजित भएको हो।
वान्डा मेट्रो पोलिटानोमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन यान्निक कारास्कोले निर्णायक गोल गरे।
खेलको ४० औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै एथ्लेटिकोलाई जिताउन पर्याप्त रह्यो।
रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले एट्लेटिकोविरुद्धको खेलमा मुख्य फरवार्ड करिम बेन्जेमालाई विश्राम दिँदा भिनिसियस जुनियर, लुका मोड्रिच र फेडरिको भाल्भेर्डेलाई दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए।
यो जितसँगै एट्लेटिको ३५ खेलबाट ६४ अंक जोडेर चौथो स्थानमा यथावत छ। एट्लेटिको दोस्रो स्थानको बार्सिलोनासँग ५ अंकले तथा तेस्रो स्थानको सेभियासँग १ अंकले पछि छ।
हारका बाबजुत शीर्षस्थानको रियल १७ अंकले अघि छ। पराजित रियल ३५ खेलबाट ८१ अंक जोडेर शीर्षस्थानमा कायमै छ। ला लिगामा रियलको यो चौथो हार हो।